कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई ३ अर्ब ४२ करोड बजेट निकासा

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रण कार्यका लागि अहिलेसम्म ३ अर्ब ४२ करोड रुपैयाँ बजेट दिएको छ। अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई यो बजेट दिएको हो।

अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिइएको बताउनुभयो । संसदको अर्थसमितिको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि जानकारी गराउनुभएको हो ।

बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई आवश्यकताअनुसार खर्च गर्दै जाने बताउनुभयो । उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले गरेको सिफारिसअनुसार अर्थ मन्त्रालयले रकम निकासा दिँदै जाने जानकारी गराउनुभयो ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार १६:१७