लुक्ला विमान दुर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं : सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा तीन जनाको ज्यान जाने गरी भएको समिट एयरको विमान दुर्घटनाका बारेमा छानबिन गर्न एक समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहनुभएको छ भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १०:५८