दूधको मूल्य तत्काल वृद्धि गर्न किसानको माग

काठमाडौँ। दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाई सकेको छ तर अझै त्यो कार्यान्वयमा नआएको प्रति किसानसँग सम्बन्धित संघ संस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । बोर्डले सरकारलाई मूल्य वृद्धि सम्बन्धी प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसक्यो तर त्यसलाई कार्यान्वयमा आनाकानी गरिरहेको संघका महासचिव रामप्रसाद आचार्यले बताउनुभयो । तीन वर्षदेखि कच्चा दूधको मूल्य वृद्धि भएको छैन । यसबीचमा पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधीलगायतको मूल्य अत्याधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएको कारण किसान मर्कामा परेको बताउँदै महासचिव आचार्यले दूधको मूल्य वृद्धि नहुने हो भने दुग्ध क्षेत्र नै धारासाही हुने बताउनुभयो ।

डेरी उद्योगीहरुले दूध नपाएर विदेशबाट आयात गर्न पाउनुपर्छ भनी कृषि मन्त्रालयसँग माग गरेका छन् । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश सञ्जेलले मन्त्रालय दूधको मूल्य वृद्धिमा सकारात्मक रहेको बताउनुभयो । बोर्डले तयार पारेको प्रतिवेदन अध्ययनपछि कृषि मन्त्री महिन्द्रराय यादवले दूधको मूल्य वृद्धिको प्रस्ताव मन्त्रीपरिषद्मा लग्नुभएको छ, त्यहाँबाट पास भएपछि त्यो तत्काल कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

बोर्डले दिएको प्रतिवेदनमा प्रतिलिटर दूधमा १० रुपियाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ । हाल उपभोक्ताका लागि प्रतिलिटर ६५ रुपियाँमा विक्री वितरण भइरहेको छ । बोर्डले सबै सरोकारबालाहरुलाई राखेर एउटा समिति गठन गरेको थियो । सोही समितिमार्फत सातवटै प्रदेशमा अध्ययन गराएर प्रतिवेदन तयार गरेको थियो ।


प्रकाशित | १६ माघ २०७८, आईतवार १४:२८