सामाजिक सञ्जालमा अनुमतिबिना फोटो/भिडियो राख्नेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ– गृह मन्त्रालयले सामाजीक सञ्जालमा जथाभावी तस्विर र भिडियो राख्नेलाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सम्बन्धित व्यक्तिको अनुमति बेगर कुनै पनि प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही गर्ने भएको हो । 

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र भिडियो बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयले सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै, व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न’ मन्त्रालयले आग्रह गरेको हो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १९:३४