एनआरएनए उच्चस्तरीय समितिको बैठक सम्पन्न, कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन
काठमाडौं : विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीवार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका बारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी गराउनुभयो ।
बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
थापाले कोरोना भाइरसको संक्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको बताउँदै विश्वभर छरिएका नेपाली एकभएर यो महामारीबिरुद्ध लड्नु पर्ने धारणा राख्नुभयो ।
थापाले विश्वभर छरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जालको प्रयोग गरेर विदेशमा सिकेको सिप र ज्ञानलाई समेत नेपालमा भइरहेको महामारीबिरुद्ध लड्न सदुपयोग गर्न सकिने बताउनुभयो ।
उहाँले विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड समेत दिनुभयो।
२ घण्टाभन्दा बढी बैंठकमा समय व्यथित गरेका थापाले संघका विश्वभर छिरिएका शाखालाई विदेशमा कोरोना भाइरसबाट कति नेपाली प्रभावित भएका छन् त्यसको तथ्यांक संकलन गर्न सुझाव दिनुभयो ।
थापा उच्चस्तरीय समितिको सल्लाहकार हुन् । बैठकले १ हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । सो कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरेको छ ।
सो कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकार समक्ष पेश गर्ने तयारी गैरआवासीय नेपाली संघको छ ।
वैठकमा उच्चस्तीरय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।
मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेष्ट (परिक्षण) विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप भएको बताउँदै सबैलाई सो परिक्षणप्रति आस्वस्थ हुन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष पन्तले कोरानो भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कार्यहरुको जानकारी दिनुभएको थियो । पन्तले संघले पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल जान लगाएको रोक व्यवहारिक नभएको जनाउनुभयो । उहाँले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा बैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाई भोग्नुपर्ने आवस्था आउन लागेको बताउँदै सम्वन्धित सबै पक्षलाई सहयोगको लागि अपील गर्नुभएको थियो ।
बैठकमा कोरोना भाइरसका कारणले उत्पन्न आर्थिक तथा समाजिक पक्षलाई पार्न सक्ने कठिनाइमा केन्द्रीत रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । चीनमा महामारीको रुपमा फैलिएको कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो । यसअघि संघले हेल्थसम्वन्धी एक उपसमितिमार्फत नेपालमा स्वास्थ्य क्षेत्रमा सेवा दिदैं आएको थियो ।
प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार १६:४८