नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध, संलग्नहरुलाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएको जनाएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको बैंकले जनाएको हो ।

बैंकले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल÷क्रिप्टो करेन्सीले कानूनी मान्यता नपाएको भन्दै यस्त गैरकानूनी वित्तीय औजारमा आवद्ध नहुन चेतावनी दिएको हो ।

यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने, स्वेदशी पुँजी पलायन हुने भएकाले त्यस्तो कारोबार तथा व्यवसायमा नलाग्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरिएको हो ।

छोटो समयमा धेरै पैसा कमाउने आशामा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको भन्दै राष्ट्र बैंकले भनेको छ, ‘उपर्युक्त किसिमका गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ।’

 


प्रकाशित | ९ माघ २०७८, आईतवार २०:१७