विश्वकप क्रिकेट : उपाधिका दाबेदार भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी :  इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । २ पटकको च्याम्पियन भारत १ पटक फाईनलमा पराजित भएको छ । यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । हेड टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । भारत र अष्ट्रेलियाबीच १ सय ३६ वान डे खेल हुँदा भारत ४९ खेल जित्दा ७७ खेलमा पराजित भएको छ । १० खेलको नतिजा विहीन छ ।

यता दुई महिनाअघि अष्ट्रेलियाले भारतकै भुमिमा पाँच ओडीआई सिरिज ३–२ ले जितेको थियो । जसमा अष्ट्रेलियाले ३ सय ५९ रनको विशाल लक्ष्य पुरा गरेको थियो । जुन सिरिजमा अष्ट्रेलिया प्रमुख खेलाडी स्टिभ स्मिथ, डेविड वार्नर र मिचेल स्टार्क थिएनन् । यी तीन खेलाडीको आगमन र दुई महिना अघिको नतिजाले अष्ट्रेलियाको मनोबल झनै उच्च छ ।

यता तेस्रो पटक उपाधि जित्ने धुनमा रहेको भारत घरेलु मैदानमा गुमाएको सरिजको साख विश्वकपमा लिन चाहान्छ । यस विश्वकपमा अष्ट्रेलिया लगातार तेस्रो र भारत दोस्रो जितको खोजिमा छन् । दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन प्रहार गरेका रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या र जसप्रित बुमराह भारतका प्रमुख हतियार हुन् । यी खेलाडीको उत्कृष्ट प्रर्दशन विना भारतको जित संभव देखिदैन ।

ओपनर शिखर धवनको खराव प्रर्दशन भारतलाई चिन्ता थपेको छ । चौथो नम्बरमा केएल राहुललाई निरन्तरता दिने वा विजय शंकरलाई मैदान उतार्ने भन्नेमा पनि भारत अन्यौलमा देखिन्छ । भारतले आजको खेलमा विजय शंकर र रविन्द्र जडेजा मध्य एकलाई मौका दिन सक्छ ।

यस प्रतियोगिताकै सन्तुलित र बलियो टोली देखिएको अष्ट्रेलिया विश्वकपमा भारतलाई हराउँदै आफ्नो दवदवाह कायम राख्न चाहान्छ । स्टिम स्मिथ, डेविड वार्नर, आरोन फिन्च, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क अष्ट्रेलियाका प्रमुख खेलाडी हुन् । भारतको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका युवा स्पिनर एडम जम्पा पनि भारतलाई घातक बन्न सक्छन् ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १३:१४