एनआरएनएको विवाद समाधान गर्न घलेको नेतृत्वमा बन्यो ७ सदस्यीय उच्चस्तरीय समिति, निर्वाचन २८ फेब्रुअरीभित्र सम्पन्न गर्ने निर्णय

काठमाडौं – गैर आवासीय नेपाली संघको विवाद समाधान गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । आज बसेको एनआरएनएको बैठकले संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको आइसीसीको ८१ औं बैठकले संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै वास्तविक अर्थमा सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी प्रमुख संरक्षक घलेको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त हुनुुहुन्छ ।

त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तैगरि, समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय पनि भएको छ ।

एनआरएनए यूरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले बैठक अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिनु भयो । उच्चस्तरीय समितिले संघको सम्पूर्ण समस्या समाधान गर्ने विश्वास पलाएको पनि आचार्यले बताउनु भयो ।

यस्ता छन् बैठकका निर्णयहरु

गैरआवासीय नेपाली संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै वास्तविक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी आइसीसीको ८१ औं बैठकद्वारा देहाय अनुसारको Terms of Reference (TOR) सहित संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

१. डा. शेष घले (संयोजक)

सदस्यहरु :

२. डा. उपेन्द्र महतो – संस्थापक अध्यक्ष

३. श्री जीवा लामिछाने – सदस्य, संरक्षक परिषद

४. श्री देवमान हिराचन – सदस्य, संरक्षक परिषद

५. श्री भवन भट्ट – सदस्य, संरक्षक परिषद

६. श्री राम प्रताप थापा – सदस्य, संरक्षक परिषद

७. श्री कुमार पन्त – अध्यक्ष, एनआरएनए आइसीसी

Terms of Reference:

१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।

२. २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।

३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ।

४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।

त्यस्तै, प्रवक्ता डिवी क्षेत्रीद्धारा जारी विज्ञप्ति अनुसार बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई समेत पारित गरिएको छ ।


प्रकाशित | १ माघ २०७८, शनिबार १६:५५