प्यान अनिवार्य गरिएपछि सेयर बजारमा सुधार

धितोपत्रको दोस्रो बजारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएपछि ५ लाखभन्दा माथिको कारोबारमा कमी आएको भए पनि समग्र सेयर बजार भने सकारात्मक नै देखिएको छ । प्यान लागू गरिएपछि सेयर बजार परिसूचक पनि निरन्तर सुधारको गतिमा देखिएको छ । प्यान लागू भए पनि बजार झनै प्यानिक हुने मनोविज्ञानले लगानीकर्तालाई सताएको भए पनि वास्तविकता भने उल्टो देखियो । २०७६ वैशाख १ गतेदेखि लागू भएको ५ लाख रुपैयाँभन्दा धेरैको कारोबारमा प्यान अनिवार्य गरिएपछि साना तथा मझौला लगानीकर्ता भने उत्साहित भएको देखिन्छ । लगानीकर्ताका संघ–संस्थाले पनि धितोपत्र बोर्डलाई तत्काल सबैलाई अनिवार्य गरेर धेरै लगानीकर्ता बजारबाट बाहिरिन सक्ने भनेपछि ५ लाखको व्यवस्था भएको हो । वैशाख २ गते सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार ५६ पटक भएको थियो । ५ लाखभन्दा कम रकमको सेयर कारोबार गर्ने लगानीकर्ता पनि स्वेच्छिक रूपमा प्यानमा आबद्ध हुन सक्ने व्यवस्था छ । सेयर बजारका लगानीकर्ताको सानो हिस्सालाई मात्र प्यान अनिवार्य हुने देखिएपछि लगानीकर्तामा देखिएको करको डर हटेको हो । प्यानको विषयलाई लिएर सेयर बजारमा फैलाइएको हाउगुजीबाट लगानीकर्ता आत्तिनुपर्ने अवस्था समाप्त भएको छ । गत सोमबारसम्ममा प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या १४ हजार ५३ पुगेको छ । स्वेच्छिक रूपमा प्यानमा आबद्ध हुने लगानीकर्तासमेत गरी यो संख्यामा लगानीकर्ताको आबद्धता देखिएको हो । वैशाख १ गतेदेखि ५ लाखभन्दा बढीको सेयर कारोबारमा प्यान अनिवार्य गरेपछि प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ । तर, आन्तरिक राजस्व विभागसँग नेप्से तथा सेयर दलालको प्रणाली भने इन्टिग्रेट गरिएको छैन, जसले गर्दा प्यान लागू हुने गरी भएको कारोबारको प्रणालीमा कर गणना भने हुन सकेको छैन । हाम्रो करप्रणालीमा सेवाग्राही आफैं कर कार्यालय गएर घचघच्याएर कर तिर्नुपरिरहेको अवस्थामा ५ लाखभन्दा बढी रकमको कारोबारमा अहिले नै कर लाग्ने अवस्था पनि देखिन्न । नेप्सेले पनि प्यानमा आबद्ध हुनका लागि लगानीकर्ताहरूलाई प्रोत्साहित मात्र गर्दै आएको छ । पछिल्लो समयमा प्यानका कारण ठूलो रकमको कारोबारमा देखिएको कमी तथा लगानीकर्तामा करको मनोविज्ञानले पारेको असरका विषयमा  गरेको कुराकानीको सार :

प्यानसँग लगानीकर्ता डराउनुपर्ने नै छैन
भरत रानाभाट
अध्यक्ष
नेपाल स्टक ब्रोकर एसोसिएसन

धितोपत्रको दोस्रो बजारमा प्यानको विषयलाई लिएर धेरै हाउगुजी बनाइयो । वास्तवमा यो नकारात्मक विश्लेषण धेरै भएर पनि हो । सेयर बजारलाई व्यवस्थित बनाउनका लागि प्यान लागू गर्नु आवश्यक पनि हो । यसभन्दा अघि पनि १० लाखभन्दा धेरैको साधारणसेयरमा आवेदन दिँदा समेत प्यान अनिवार्य थियो । प्यानसहित आवेदन बुझाएका नै थिए त । त्यसका साथै दोस्रो बजारमा प्यान लागू भएपछि बजारले नकारात्मक प्रतिक्रिया त जनाएन नि !

प्यान सबैलाई अहिले नै अनिवार्य गर्दा गाउँगाउँमा साधारण सेयरमा लगानी गरेका लगानीकर्ता छन् । तिनीहरूले १० कित्ता सेयर पारेका छन् । त्यो १० कित्ता सेयर बिक्री गर्नका लागि प्यान अनिवार्य गर्दा प्यान लिन आउनका लागि नै दुई दिनसम्म लाग्ने अवस्था छ । त्यसैले ती लगानीकर्ताहरूलाई सहज हुने गरी पूर्वाधार बनाउन तयार भएको खण्डमा, अनिवार्य गरेको खण्डमा उपयुक्त हुन्छ ।

अहिले दोस्रो बजारमा प्यान अनिवार्य गरिनु उपयुक्त समय होइन भन्नु गलत हो भन्ने लाग्छ । बजारमा कुनै पनि नयाँ कुरा आउँदा हतार भयो, केही समय कुर्नुपर्ने थियो भन्ने कुरा भइरहन्छन् । तर, जहिले सुरु गरे पनि यो भन्ने कुरा रोकिँदैन । त्यसैले जहिले सुरु भयो, त्यही समय उपयुक्त हो । बजार व्यवस्थित गर्नका लागि सुरु हुने नयाँ कुरा जुनसुकै समयमा आएको भए पनि उपयुक्त नै हुन्छ भन्नुपर्छ ।

कुनै कम्पनी खोलेर सेयर बजारमा लगानी गर्दा प्यानसँग कुनै समस्या नभएका लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ताको सन्दर्भमा प्यान लागू हँदा समस्या हुनुपर्ने नै होइन । समग्र बजार तथा लगानीकर्ताको पक्षमा भएका नीतिगत सुधारलाई स्वीकार गरेर सुधारलाई स्वीकार गर्नु नै बजारका लागि हितकर हुन्छ ।

सेयर बजारमा कालोधन नियन्त्रण गर्नका लागि प्यान लगाइएको भन्ने कुरा गलतजस्तो लाग्छ । सेयर बजारमा हुने कारोबार सबै बैंकिङ कारोबार नै हो । बैंकिङ कारोबार हुने भए पनि कालोधन कसरी आउन सम्भव छ । कालोधन आउने माध्यम बन्द भयो भने प्यान लागू भएपछि बजार किन यसरी सुधारको गतिमा देखियो त ? त्यसैले बजारलाई व्यवस्थित गर्न सुरु भएको प्यानसँग लगानीकर्ता डराउनुपर्ने नै छैन । प्यानको विषयलाई लिएर बजार हल्ला गरेर बजारलाई चलाउन खोज्नु वा प्रभावित पार्न खोज्नु गलत हो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०८:३३