प्रशासनले सङ्क्रमण रोकथामका लागि सक्रियता बढायो

स्याङ्जा– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा सङ्क्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्नेरनगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले आगामी माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ। जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन सेन्टर तथा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि सरोकारवालालाई अनुरोध गरिएको छ ।

 

 


प्रकाशित | २८ पुष २०७८, बुधबार १३:१३