गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकोमा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अधिकारीलाई समर्थन गरेका हुन । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुखसमेत रहनु भएका अधिकारीले कास्की निर्वाचन क्षेत्र १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको थियो । 


प्रकाशित | २५ पुष २०७९, सोमबार १७:०१