नेपालमा डलर खाता खोल्न गैर आवासीय नेपालीलाई अर्थमन्त्री शर्माको आह्वान

काठमाडौं -अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा डरल खाता खोल्न आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो ।

‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ’, उहाँले भन्नु भयो ।  नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर लगानी आवश्यक पर्ने र त्यसको लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनु पर्ने आवश्यकता बताउनु भयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताउँदै यस अघि रहेको १००० डलरलाई घटाएर ५,००० डलर पुर्याएको र २ वर्षलाई घटाएर १ वर्ष बनाएको जानकारी दिनु भयो ।

केहि बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको बताउँदै कार्यान्वयनका क्रममा केही समस्या आएमा त्यसलाई तत्काल सम्बोधन गरिने बताउनु भयो ।

अर्थ सचिव मधु मरासिनीले डलर खाता खोल्नका लागि सहजीकरण गरिएको बताउँदै भन्नु भयो, ‘तपाई जहाँ हुनु हुन्छ त्यहिँ बाट खाता खोल्न पाइन्छ, फिर्ता लग्न पनि पाइन्छ । पैसासंग भावना र माया पनि जोडिन्छ। तपाईंहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ।’

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संसार भरिरहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफुसंग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले सरकारले गैर आवासीय नेपालीलाई नेपालमै विदेशी मुद्रामा खाता खोल्न दिने नीति बनाएकाले आफ्नो पहलले सार्थकता पाएको भन्दै यसका लागि अर्थमन्त्री शर्मा र नेपाल सरकारलाई धन्यवाद दिनु भयो ।

गैर आवासीय नेपालीले नेपालकै बैङ्कमा पैसा राख्न पाउँदा विदेशमा निर्व्याजी थन्किएको पैसाले ब्याज कमाउने बताउँदै प्रारम्भिक फाइदा ब्याज आर्जनबाट हुने र त्यसले देशलाई नेपालीको पैसा नेपालमै ल्याउन र नेपालको विकासमा लगानीमा फाइदा पुग्ने बताउनु भयो ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले गर्नु भएको थियो । ।

एनआरएनए युके आयोजक रहेको उक्त कार्यक्रममा एनआरएनए एनसीसीहरु अमेरिका, अष्ट्रिया, अस्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरिया सह(आयोजक रहेको थिए ।


प्रकाशित | २७ पुष २०७८, मंगलवार १२:०९