एनआरएनए निर्वाचन नहुञ्जेलसम्म अग्रजहरुको नेतृत्वमा तदर्थ समिति गठन गरेर अगाडि बढौ: सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचन सम्पन्न नहुञ्जेलसम्मको लागि तदर्थ समिति गठन गरेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले एक विज्ञप्ति जारी गर्दै यथाश्रीघ्र निर्वाचनमा भाग नलिने अग्रजहरुको नेतृत्वमा निर्वाचन सम्पन्न नभए सम्मको लागि तदर्थ समिति गठन गरि अगाडी बढ्नुपर्ने बताउनु भएको हो ।

तदर्थ समिति गठन गरेर अगाडी बढ्नुमा नै संघको हित हुने भएको बताउँदै उहाँले सोहि बमोजिम गर्नको लागि अध्यक्षलगायत सम्बन्धित सबैमा अनुरोध गर्नु भएको छ।

महासचिवले हालसालै जनवरी १५ तारिखको लागि बोलाईएको ८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बारे ध्यानाकर्षण भएको उहाँले बताउनु भएको छ । महासचिवले बोलाउनु भएको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकको कुनै औचित्य नभएकोले सो बैठक स्थगितको लागि समेत लामाले अनुरोध गर्नु भएको छ ।

उपाध्यक्ष लामाले संघको महासचिव जसले आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गरि सकेको छ, वहाँ बाट संचालन हुने निर्वाचन सम्बन्धिको बैठक र त्यस बैठकले गर्ने निर्णय उपर बिश्वास गर्ने अधार रहला भन्दै प्रश्न समेत गर्नु भएको छ ।

‘यदि बैठक गर्नु आवश्यक नै छ भने पनि पहिले आईईएस र ओबीमा छलफल गरि सचिवालयको कार्यकारी निर्देशकले बैठक संचालन गर्ने गरि बैठक बोलाउन जरुरी छ’ , उहाँले भन्नु भएको छ, ‘यसो गरेमा केहि हद सम्म भए पनि हामीले निस्पक्ष भएर निर्णय गर्न सकिन्छ भन्ने मेरो मान्यता हो।’

वर्तमान कार्यसमितिको समय अवधि गत अक्टोबर २०२१ मा नै समाप्त भैसकेकाले वर्तमान कार्यसमितिको हालको अवस्था भनेको काम चलाऊ मात्र रहेको बताउँदै काम चलाऊ कार्यसमितिले सामान्य दैनिक कार्यसंचालन बाहेक अन्य कुनै पनि महत्वपुर्ण बिषयमा निर्णय गर्न नसक्ने बताउनु भयो ।

वर्तमान कार्यसमितिको हालको अवस्था भनेको काम चलाऊ मात्र हो भन्ने बिषय हामी सबैले स्पष्ट बुझेकै हुनुपर्छ, उहाँले भन्नु भयो, त्यस माथि पनि महाधिवेशन र निर्वाचन सम्बन्धिको निर्णय गर्न सकिने त झनै अस्वभाविक हुने नै भयो।

गैर आवासीय नेपाली संघको इतिहासमा सबैभन्दा जटिल र जोखिम अवस्थामा नेतृत्वमा रहेकाहरुले बिशेष गरेर अध्यक्षले संघको हितमा निकै सुझबुझ र बिबेक प्रयोग गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले संघको हितको खातिर कसैको व्यक्तिगत स्वार्थ नहेरी निष्पक्ष भएर अगाडी बढ्न सम्बन्धित सबैमा आग्रह गर्नु भएको छ ।


प्रकाशित | २७ पुष २०७८, मंगलवार ११:१०