‘आमाको इच्छाले बनें फुटबलर’

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा एक समय रौतहटको दबदबा थियो । रौतहटको त्यही फुटबल माहोलबाट उठ्नुभएकी अनु लामाले नेपाली महिला फुटबलमा तहल्का नै मच्चाउनुभयो । पूर्वकप्तान अनु सावित्रा भण्डारीपछि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । यसअघि अनुको नाममा राष्ट्रिय टोलीबाट ३५ गोलको कीर्तिमान थियो । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि अनुको नाममा रहेको उक्त कीर्तिमान भण्डारीले तोड्नुभएको हो ।

अनुको गोल र उहाँले देश विदेशमा पाएको चर्चा स्वभाविक थियो । त्यही चर्चाले रौतहट चन्द्रनिगाहपुरकी सुशीला रानामगरलाई पनि हुटहुटी बढेछ । घरमै बस्न मन पराउने आफ्नै कान्छी छोरी (अन्जना) लाई पनि फुटबल खेलाउन पाए अनुकै जस्तो चर्चा बटुल्थी की भन्ने सोच सुशीलालालाई भयो । अनि सुशीलाले ११ वर्षीय छोरी अन्जनालाई साइकलमा हालेर फुटबल मैदानमा लान थाल्नुभयो ।

सुरुवातमा अन्जनालाई त्यति खेल्ने मन थिएन । एक महिना जति दिदीहरुसँगै खेल्न थाल्नुभयो । ‘खेल्न त गएँ तर, सधैँ खाली खुट्टाले खेल्न कहाँ सकिन्थ्यो र ! जुत्ता नभएपछि खुट्टामा घाउ भयो अनि खेल्न छाडेँ’, नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक अन्जना रानामगरले विगत सम्झनुभयो, ‘पछि आमाले अंकलसँग पैसा मागेर बुट किनेर ल्याइदिनुभयो । अनि फेरि खेल्न थालेकी हुँ ।’

रौतहटको माहोलबाट फुटबल सुरु गर्नुभएकी अन्जना सुरुवातमा स्ट्राइकर हुनुहुन्थ्यो । पछि उहाँका प्रशिक्षक स्वर्गीय शेरबहादुर दर्लामीले घरमै गएर आग्रह गरेपछि गोलकिपर बन्नुभएको हो । ‘गुरुले घरमै गएर ममीलाई यसले गोलकिपर खेल्नुपर्छ भनेपछि गोलकिपर खेल्न थालेँ,’ अन्जना भन्नुहुन्छ ।

कक्षा ६ पढ्दै गर्दा कलिलो उमेरमा फुटबलसँग रम्नुभएकी अन्जनाले त्यसपछि फुलबलमा पछाडि फर्केर हेर्नुपरेको छैन । पछिल्लो आठ वर्षमा अन्जनाको फुटबल ग्राफ धेरै माथि पुगेको छ । १५ वर्षमै सिनियर राष्ट्रिय महिला फुटबल टोलीमा डेब्यु गर्नुभएकी अन्जना कम उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउने पहिलो महिला फुटबलर हुनुहुन्छ । उहाँले यू–१४, यू–१६, यू–१९ समूहका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै प्रतियोगिता खेलिसक्नुभएको छ । यू–१९ राष्ट्रिय टोलीकी कप्तानसमेत रहनुभएकी अन्जना कप्तान र गोलरक्षकसमेत आफैँ हुँदा जिम्मेवारी थप बढेको बताउनुहुन्छ ।

बंगलादेशमा सम्झन लायक प्रदर्शन

बंगलादेशमा भएको यू–१९ महिला साफ च्याम्पियनसिपमा पनि अन्जनाले दमदार प्रदर्शन गर्नुभयो । लिग चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएर बाहिरिनुपर्दा उहाँलाई नमज्जा लागेको छ ।

‘बंगलादेशलाई गोलरहित बराबरीमा रोक्यौँ, श्रीलंकालाई ६–० र भुटानलाई ४–० ले हरायौँ । तर, भारतसँग नसोचेको हारभयो । उपाधि चुम्ने लक्ष्य राखेको टोली हामी गोल नखाई अगाडि बढेका थियौँ । अन्तिममा जित्नै पर्ने खेलमा भारतसँग पराजित हुँदाको क्षणले मलाई संसार अन्धकार भएजस्तो बनायो’, अन्जना भन्नुहुन्छ, ‘हामी राम्रो खेलेर पनि पराजित भयौँ ।’

नेपालमा पुरुष फुटबल टोलीलाई जस्तै अन्तर्राष्ट्रिय एक्पोजर र प्रतियोगिता भएमा महिला फुटबल पुरुषको भन्दा माथि जाने उहाँको ठम्याइ छ । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष सरह महिला खेलाडीको तलब समान गरेको छ । तर, प्रतियोगिता आयोजना, लिग फुटबलको निरन्तरता र अन्तर्राष्ट्रिय एक्पोजरको हिसाबले हामी धेरै पछाडि छौंँ । सरकार र एन्फाले महिला फुटबलको विकासमा पनि प्राथमिकता दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ ।

आमाकै कारण फुटबलमा लागेर अहिले आफू र परिवारलाई मात्र होइन, देशकै लागि केही गरिरहेको अन्जनाको भनाइ छ । ‘विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलिरहेको छु । सिनियर राष्ट्रिय टोलीमा परेपछि आमा बाबा धेरै खुशी हुनुभएको छ । फुटबल खेलेरै देशका लागि केही गर्ने विचारमा छु । सिनियर टोलीकै कप्तानी गरेर नेपाललाई धेरै उपाधि जिताउने रहर छ’, उहाँ भन्नुहुन्छ, ‘पढाइलाई पनि सँगै अगाडि बढाएकी छु । ३५–३६ वर्षसम्म खेल्न त कसो नसकिएला ?’ – गोरखापत्र दैनीक


प्रकाशित | २५ पुष २०७८, आईतवार १०:०६

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *