प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहनुभएको छ । चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

यसैगरी, शुक्रबार पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र हाल होमआइसोलेसनमा रहेको नेता श्रेष्ठले सामाजिक सञ्चालमार्फत बताउनु भएको छ ।

सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, श्रेष्ठले लेखेका छन्, ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

 


प्रकाशित | २४ पुष २०७८, शनिबार ११:२८