‘फ्रि किक किङ’ मेस्सी : यस्तो छ रेकर्ड

एजेन्सी : पछिल्ला केही सिजनयता बार्सिलोनाका लिओनल मेस्सीले अविश्वसनीय फ्रि किक गोल गर्दै दुनियाँको तारिफ बटुल्दै आइरहेका छन् । बढ्दो उमेरसँगै मेस्सीको प्रदर्शनमा कुनै कमी आएको छैन । बरु, उनी विगतभन्दा पछिल्ला वर्ष फ्रि किकबाट सोझै गोल गर्न झन् माहिर बन्दै गएका छन् ।

यहाँ जारी सिजनको चर्चा गरौं । एक तथ्यांक संकलक मिडियाका अनुसार मेस्सीले यो सिजन पनि फ्रि किक गोलमा रेकर्ड बनाएका छन् । पछिल्ला १० सिजन लगातार बार्सिलोनाका लागि कम्तीमा ४० वा सोभन्दा बढी गोल गर्दै आएका मेस्सीले प्रशस्तै फ्रि कि गोल गर्दै आएका छन् ।

उनले आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई फ्रि किक गोलमा निकै पछि पारेका छन् । यो सिजनको मात्रै कुरा गर्ने हो भने त रोनाल्डो मेस्सीको छेउ पनि पुग्दैनन् ।

मेस्सीले पछिल्लोपटक ला लिगामा भिल्लारियलविरुद्धको खेलमा पछि परेको अवस्थामा ९०औं मिनेटमा फ्रि किक गोल गरेका थिए । त्यसपछि खेलको अन्तिम १० सेकेन्ड बाँकी छँदा लुइस स्वारेजले गोल गरेर बार्सिलोनालाई हारबाट जोगाएका थिए ।

‘ओप्टा स्पोर्टस्’का अनुसार जारी सिजन युरोपका टप–५ लिगमा मेस्सी फ्रि किकबाट सोझै गोल गर्नेमा पहिलो नम्बरमा छन् । उनले कूल ६ गोल फ्रि किकबाट गरेका छन् ।

जबकि, युरोपियन लिगमा यो अन्य कुनै पनि खेलाडीले गरेको भन्दा सर्वाधिक बढी फ्रि किक गोल हो । स्मरण रहोस्, सन् २००६÷००७ यता मेस्सीले हरेक सिजन कम्तीमा ६ फ्रि किक गोल गर्दै आएका छन् ।

जारी सिजन मेससीले सबैखाले प्रतियोगिता गरेर फ्रि किकबाट गोल ८ गोल गरिसकेका छन् । गत सिजन उनले ७ गोल मात्रै गरेका थिए ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०९:४८