हैदरावादसंग पन्जाब पराजित

एजेन्सी:  सनराईजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो ।

राजिब गान्धी क्रिकेट स्टेडियममा हैदरावादले दिएको २१३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पन्जाबमा मायांक अग्रवालले २७ तथा निकोलस पुरनले २१ रन बनाए । सिम्रन सिंह १६ रनमा आउट हुँदा डेभिड मिल्लर ११ रनमा आउट भए ।

हैदरावादका खलील अहमेद र राशिद खानले ३/३ विकेट लिए । सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिस पाण्डेले ३६, रिद्दिमान शाहले २८ तथा मोहमद नाभीले २० रन बनाए । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २/२ विकेट लिए । जितसंगै हैदरावादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । राजस्थान १२ खेलबाट १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । छैटौं स्थानको पन्जाबले १२ खेलबाट १० अंक जोडेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०६:१५