एनआरएनएमा जाग्यो आशा, सहमतिका लागि अध्यक्षका उम्मेदवारलाई एकै ठाउँमा राखेर छलफल शूरु

काठमाडौं  – गैर आवासीय नेपाली संघमा आपसी सहमति, सहकार्य र एकताको प्रयास शूरु भएको छ । लामो समयको विवादपछि अध्यक्ष कुमार पन्तले अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर सहमतिका लागि छलफल शूरु गर्नु भएको हो ।

एनआरएनएमा लामो समयदेखिको विवादका कारण आरोप-प्रत्यारोप चले पनि अहिले भने सबै पक्ष एकै ठाउँमा उभिएका छन् । फेस टू फेस छलफलका लागि अध्यक्ष पन्त सहित अध्यक्षका उम्मेदवार डा. बद्री केसी रसिया र कुल आचार्य यूकेबाट आउनु भएको थियो । अर्का उम्मेदवार रविना थापा भने नेपालमै हुनुहुन्थ्यो ।

अध्यक्ष पन्तले सबै उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर छलफल शूरु गरेको बताउँदै विवाद समाधानका लागि हदैसम्मको लचकता अपनाउन पछि नहट्ने र विवाद समाधान गरिछाड्ने प्रतिबद्धता जनाउनु भएको छ । केहि दिन अघि मात्र अध्यक्ष पन्तले एक महिनाभित्र निर्वाचन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने बताइसक्नु भएको छ ।

त्यस्तै, तीनै उम्मेदवारहरु एकै ठाउँमा राखेर छलफल शूरु भएको सूचनासँगै विश्वभरिका गैर आवासीय नेपालीहरुमा भने विवाद समाधान हुने भन्दै खुसीको सञ्चार छाएको छ ।


प्रकाशित | १९ पुष २०७८, सोमबार २१:२५