कोरोना संक्रमीत बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारियो

लन्डन:  कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था जटिल बन्दै गएपछि सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।

५५ वर्षीय प्रधानमन्त्री जोन्सन १० दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि आइतबार वेष्टमिनिस्टरस्थित सेन्ट थोमस हस्पिटल भर्ना गरिएकोमा सोमबार बिहानसम्म प्रधानमन्त्री जोन्सनले आफूलाई ठिक भएको ‘ट्वीट’ गरेका थिए । उनलाई सोमबार दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो ।

प्रधानमन्त्री सघन उपचार कक्षमा उपचारार्थ रहेका बेला विदेशमन्त्री डोमिनिक राबले जोन्सनको कार्यभार सम्हाल्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् । होसमै रहेका प्रधानमन्त्रीले एनएचएस कर्मचारीलाई आफ्नो राम्रो रेखदेख गरेकामा धन्यवाद दिएका छन् ।

प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुःखको समाचार भएको बताए । उनले यो अत्यन्तै कठिन समयमा सिंगै देश प्रधानमन्त्री र उनको परिवारको साथमा रहेको पनि जनाए । लन्डन मेयर सादिक खानले प्रधानमन्त्री जोनसनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।


प्रकाशित | २५ चैत्र २०७६, मंगलवार ०२:३९