पहिलो पटक डाक्टर भेट्दा ८९ वर्षीय पेमाको आँखा रसाए

दिनेश दुलाल /बाह्रबिसे (सिन्धुपाल्चोक)  

बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिंगार्चेकी ८९ वर्षिय पेमा तामाङले आफ्नो जीवनमा केहिल्यै डाक्टर देख्न पाउनुभएको थिएन । घाँस, दाउरा र मेलापात गर्दै उहाँको ८९ बसन्त बित्यो तर पैदल हिडेर चार घण्टा टाढा बाह्रबिसे सम्म उपचारको लागि भनेर उहाँ कहिल्यै आईपुग्नुभएन । बुढेसकाल लागे पछि त झन उहाँलाई उपचार गर्न जान सम्भव भएन । घुँडा दुख्ने तथा दमको वेथाले कतै हिड्न नसक्नु हुने पेमालाई घर बाहिर निस्कन मुस्किल थियो । बाँचुञ्जेल यता उता हिड्न पाए हुन्थ्यो भन्ने रहर बोक्नुभएको पेमालाई उपचार गर्न नपाउँदा निरासा छाएको थियो । तर एकदिन अचानक आफ्नै गाउँमा डाक्टर टोली आउँदा भने पेमा खुशीले गद्गद हुनुभयो । । खुशीले उहाँका आँखा रसाए ।

’बुढेसकालमा डाक्टर भेट्न पाईयो, अब अझै केही समय बाँचिन्छ की ?‘ खुशी हुँदै पेमाले भन्नुभयो । उहाँले पहिलो पटक डाक्टरलाई आफुलाई घुँडा दुख्ने् र दमको समस्या राख्नुभो । उहाँलाई स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य जाँच गर्न आएका डाक्टर निशान्त शर्पाले औषधी लेखिदिनुभयो । कहिल्यै डाक्टर नदेख्नुभएको पेमा जस्ता वयोवृद्वा तथा तन्नेरीको लागि गाउँमै उपचार गर्ने स्वास्थ्य शिवीर लगायत एकीकृत घुम्ति शिविरको आयोजना बाह्रबिसे नगरपालिकाले मिलाएपछि वृद्धबुद्धा लौरो टेकेरै शिविरमा आई पुगेका थिए ।

स्वास्थ्य जाँच पछि निशुल्क औषधी लिएर फर्किनुभएको पेमा लगायत चारजनालाई सोही कार्यक्रममा बाह्रबिसे नगरपालिकाले सम्मानपत्रसहित नगद दुई हजार पाँचसय दिएर सम्मान ग¥यो । त्यसपछि पेमाको खुशीको सिमै रहेन । उहाँले बाह्रबिसे नगरपालिका प्रमुख निम्फुन्जो शेर्पालाई धन्यवाद दिनुभयो । ’अस्ताउनै लागेका हामी जस्ता वृद्व–वृद्वालाई सम्मान गरेर ठूलो काम गर्नुभयो, तपाईहरुको जय–जय होस‘, पेमाले खुशीभावमा भन्नुभयो । सम्मानित हुने पेमाकै उमेरका ८९ वर्षिय थल बहादुर बस्नेत उसैगरी खुशी हुनभयो । नगरालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविर कार्यक्रममा सो वडाका ८५ वर्षिय ठुलीमायाँ तामाङ र ८६ वर्षिय फुन्जु तामाङ समेत ४ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिकलाई मेयर निम्फुन्जो शेर्पा र उपमेयर सुशिला पाख्रिनले नगद सहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । शिविरमा सम्मान पछिको संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्पाले जनताले दिएको अभिमतलाई आफुले सावाँ व्याज सहितको सेवा दिएर जनताको गुन फिर्ता गर्न लागेको बताउनुभयो । ’तपाईहरुले मलाई ठूलो लगानी गर्नुभएको छ त्यसको सावाँ व्याज सहितको सेवा हामीले दिनेछौं‘, मेयर शेर्पाले भन्नुभयो । उपचार गर्नबाट बन्चित रहेका वयोवृद्व देखि अशक्त समेतलाई ध्यानमा राखेर स्वास्थ्य लगाएत एकीकृत घुम्ती शिविरको आयोजना गरेको शेर्पाले बताउनुभयो ।

९ वटै वडामा गर्न लागिएको एकीकृत घुम्तीशिविर अब ३ वटा वडामा गर्न बाँकी रहेको जानकारी दिंदै मेयर शेर्पाले अर्को चरणमा गरिने घुम्ती शिविरलाई अझै प्रभावकारी ढंगले लैजाने प्रतिवद्वता जनाउनुभयो । नगरपालिकाले गरेको एकीकृत घुम्ती शिविरले जनतामा निकै उत्साहा थपिएको उपमेयर सुशिला पाख्रिनले प्रतिक्रिया दिनुभयो । डाक्डर नदेखेका र अन्य सेवा नपाएका स्थानीय सर्वसाधारण जनतालाई नगरपालिकाद्वारा गरिएको एकीकृत घुम्ती शिविरले निकै लाभ दिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेले ठोकुवा गर्नुुभयो ।

नगरपालिकाको वडा नम्बर ५ अन्र्तगत खडादेवी आधारभूत विद्यालय सिङगार्चेमा सोमबार गरिएको एकीकृत घुम्ती शिविरमा स्थानीय ६ सय भन्दा माथिले सरकारी सेवा लिएको सोही वडामा वडाअध्यक्ष बेलबहादुर रोक्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घुम्ति शिविरमा स्वास्थ्यमा १ सय ८१, कृषिमा २ सय, पशु सेवा १ सय ३८ ले सेवा लिएका छन् ।

त्यस्तै,  जेष्ठ नागरिकता प्रमाणपत्र ५ जना, अपाङ्गता परिचयपत्र ५, पञ्जीकरण ५, मालपोत ४, बैंक खाता ७ र व्यवसाय दर्ता १ जनाले गराएका छन् ।  विहान ८ वजे देखि दिउसो ३ बजे सम्म गरिएको घुम्ती शिविरमा स्थानीयको उत्साहाजनक उपस्थिति रहेको एकीकृत घुम्ति शिविरका संयोजक ज्ञानेन्द्र महतले बताउनुभयो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार २०:१७