प्रधानमन्त्री एनआरएनएमा व्यक्ति विशेषको पछि लाग्नु अशोभनीय : डा. केसी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई एनआरएनएमा जिताउन विज्ञापन गर्दै हिडेको भन्दै आपत्ति जनाउनु भएको छ ।

केसी टिमले बिहीबार भर्चुअल रुपमा आयोजना गरेको तिहार विशेष शुभकामना साँझमा बोल्नु हुँदै उपाध्यक्ष समेत रहनु भएको डा केसीले प्रधानमन्त्री देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन गर्दै हिड्नु शोभनीय नभएको टिप्पणी गर्नु भएको हो ।

‘ठुला राजनीतिक दलले धेरै मुलुकमा क्षेत्रगत जिम्मेवारी दिएर नाम तोक्दै व्यक्ति विशेषलाई चुनाव नै जिताउनु पर्छ भनेर लाग्नु अनि देशको प्रधानमन्त्री जस्तो व्यक्तिले त्यहीं व्यक्तिको विज्ञापन गर्नु अवश्य ठिक होइन’, अध्यक्ष पदका प्रत्यासी डा. केसीले भन्नु भयो ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले अध्यक्ष पदका अर्का प्रत्यासी कुल आचार्य एनआरएनएको अध्यक्ष हुने विश्वास लिएको बताउनु भएको थियो ।

केसीले गैर राजनीतिक र गैर नाफामुलुक सामाजिक संस्थामा स्थापनाको १८ बर्षे इतिहासमा पहिलो पटक संस्था भित्र कै केही व्यक्तिहरुद्वारा राजनीतिक हस्तक्षेप निम्त्याइएको कारण निर्वाचन हुन नसकेको बताउनु भयो । एनआरएनएमा आवद्ध केही व्यक्तिकै कारण १८ बर्षमा पहिलो पटक चुनाव हुन नसकेको उहाँको भनाइ छ ।

‘एनआरएनएमा निर्वाचनमा विजयी हुनका लागि कुनै राजनीतिक पार्टीको टिका लगाउन जानु पर्ने वातावरण हाम्रै केही साथीहरूले बनाइ रहेका छन् । यो हामी आफैले बनायौ । यसलाई राजनीतिमुक्त बनाउनु पर्छ’, उहाँले भन्नु भयो ।

डा. केसीले १८ बर्षमा संस्थागत विकास भएर अत्यन्तै राम्रो भइसकेको एनआरएनए जोगाउन सबै लाग्नु पर्ने पनि बताउनु भयो ।

एनआरएनएमा विधि विधान भित्रबाट केही गल्ती भएका छन भने सच्चाएर अघि बढनु पर्ने बताउँदै उहाँले पुर्व अध्यक्ष,अग्रज तथा संरक्षकहरुले व्यक्ति भन्दा पनि संस्थालाई केन्द्रमा राखेर आफ्नो भुमिका निर्वाह गर्नु पर्ने बेला आएको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा विश्वभर छरिएका गैर आवासीय नेपाली र नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारले शुभकामना सहित सांगीतिक प्रस्तुती समेत दिएका थिए । 


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार १६:५२