गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी नबनाऔं: रविना थापा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले संघलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिनु भएको छ । अध्यक्ष उम्मेदवार समेत रहनु भएकी थापाले लामो समय संस्थालाई अनिर्णयको बन्दी  बनाउन नहुने बताउँदै जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्ने बताउनु भएको हो ।

थापाले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै  संस्थामा कसैको पनि हस्तक्षेप हुन नहुने र त्यसका लागि सबैले आवाज उठाउनुपर्ने बताउनु भयो ।

प्रवास मिडिया प्रोडक्सन प्रालिद्धारा संचालित प्रवास खबर डटकमको पहिलो बार्षिकोत्सवको उद्घाटन गर्दै थापाले संस्थामा हस्तक्षेप हुँदा पनि नेपालका सामाजीक संस्थाले कुनै सहयोग नगरेको गुनासो गर्नु भयो । एनआरएनएमा राजनीतिक हस्तक्षेप देखि सरकारसम्मको हस्तक्षेप हुँदा पनि नेपालका सामाजीक संघसंस्थाले बोल्न नसकेको उहाँको भनाइ छ ।

विदेशमा बस्ने नेपालीलाई अपठ्यारो परेको बेला एनआरएनएले गरेको सहयोग स्मरण गर्दै यो संस्था विदेशमा रहेका नेपालीको सहयोगी संस्था बनेको बताउनु भयो । थापाले एनआरएनएलाई अपठ्यारो पर्दा अन्य संघसंस्थाले पनि बोलिदिन र अन्य संघसस्थालाई असहज हुँदा एनआरएनएले सहयोग गर्ने वातावरण बन्नुपर्ने बताउनु भयो ।

‘एनआरएनएभित्र महिला र युवालाई हेर्ने दृष्टिकोण अलि संकुचित छ, त्यसलाई चिर्नका लागि पनि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ,’थापाले भन्नु भयो, ‘विदेशमा रहेको नयाँ पुस्तालाई नेपाली भाषामार्फत नेपाल र नेपालीसँग जोडनु आवश्यक छ ।’

कार्यक्रममा एनआरएनएका महासचिव डा.हेमराज शर्माले एनआरएनए निर्वाचनमा हुने आर्थिक चलखेल रोक्न खोज्दा अहिलेको अवस्था आएको बताउनु भयो । एनआरएनएको नेतृत्वमा पुग्न करोडौ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गरिएकाले प्रवासमा बस्ने सामान्य ब्यक्तीले पनि निर्वाचनमा उठ्ने आट गर्न सक्ने अवस्था आएको बताउनु भयो ।

एनआरएनए आगामी निर्वाचनमा महासचिवका प्रत्यासी बिनय अधिकारीले एनआरएनएको निर्वाचन रोक्नु कुनै पनि किसिमले उचित नभएकाले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्घव भट्टराई, श्रम रोजगार पत्रकार समाजका उपाध्यक्ष होम कार्की, नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(इन्जा)का अध्यक्ष टंक पन्त, अन्र्तराष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रिय महासचिव समीम अनवर र वैदेशिक रोजगार पत्रकार समाजका पूर्व अध्यक्ष हरि थापाले धारणा राख्नु भएको थियो ।

प्रवास मिडिया प्रोडक्सनका अध्यक्ष तथा कार्यक्रमका सभापति बिनेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पादक टिकाराम खनाल र साजन कुमार शर्मा(एसके) ले पनि बोल्नु भएको थियो ।


प्रकाशित | १७ पुष २०७८, शनिबार २१:३४