नेपालमा हालसम्म ६५ लाख ८२ हजार डोज खोप भित्रियो, केही दिनमा थप ६४ लाख डोज खोप आउने

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम जारी छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ। चीनसँग खरिद गरिएको ३२ लाख अबको १० दिनभित्रमा आउने बताइएको छ। यस्तै चीनबाट अनुदान स्वरुप १६ लाख र जापानबाट १६ लाख कोभ्याक्स अन्तर्गतको खोप आउने पक्का भएको मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख र भारतले १० लाख खोप अनुदानमा दिइसकेको छ।

नेपालले भारतको सेरम इन्स्टिच्युसँग १० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। २० लाख डोज खोप खरिदका लागि रकम पठाइएको भए पनि सेरमले अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन।

कोभ्यास फ्यासिलिटी अन्तर्गत नेपालमा सबैभन्दा पहिला ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको थियो। यही असार २८ गते मात्र कोभ्याक्स मार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप पनि नेपाल आइसकेको छ।

यस्तै, भारतबाट नेपाली सेनाका लागि १ लाख डोज खोप समेत अनुदानमा प्राप्त गरेको थियो। खरिद अन्तर्गत भने भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर हालसम्म १८ लाख डोज खोप आइसकेको छ। चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ। खरिदको उक्त खोप लिन ६, ७, ८ र ९ गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ।

नेपालमा हालसम्म २७ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज खोप लगाएका छन्।

१८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ९ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।


प्रकाशित | २ श्रावण २०७८, शनिबार २०:३६