राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ वटा दल दर्ता

काठमाडौ -राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार आठ र शनिबार चार वटा दलले दर्ता गराएका हुन् ।

पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय शनिबार सकिएको छ । दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् । नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ ।

लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले भोट हाल्न पाउनेछन् ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएका छन् । दर्ता भएका कागजपत्रको छानबिनको कामपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गरिने आयोगले जनाएको छ ।


प्रकाशित | ११ पुष २०७८, आईतवार १०:१४