नेपालमै पहिलो पटक डलरमा शेयर निष्काशन गर्दै एनआरएनए (भिडियो रिर्पोटसहित )

१० लाख डिम्याट खाेल्ने अभियान शुरू

काठमाडौं । गैर आवासीय नेपाली संघले नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ । नेपालमै पहिलो पटक संघले प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने तयारी थालेको हो । संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन।

संघका अध्यक्ष कुमार पन्तका अनुसार पहिलो पटक करिव नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने तयारी भइरहेको हो । प्रति कित्ता १० डलरका दरले गैर आवासीय नेपालीका लागि लक्षित गर्दै शेयर जारी गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार अधिक सेयर परेको अवस्थामा त्यसलाई पनि स्वीकार गरेर लगानी गर्न पाउने गरी अहिले नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको छ ।

संघले सरकारको पाँच प्रतिशत लगानी रहने गरी १० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्दैछ। कम्पनीको लागि प्रबन्धपत्र तयार गरेर यतिबेला कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता प्रक्रियामा गइसकेको छ। कम्पनी दर्ता भए लगत्तै संस्थापकहरूले कम्पनीमा आफूले कबुल गरेको रकम दाखिला गर्ने छन्। दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको लगानीको लागि प्रतिबद्धता आइसकेको छ । सरकारको समेत पाँच प्रतिशत लगानी रहने उक्त कोषमा जीआईजेड, यूएसएआईडी जस्ता संस्थाले प्राविधिक सहायता गर्नेछन् ।

कम्पनीमा ८५ प्रतिशत लगानी गैर आवासीय नेपालीको हुने छ । ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ। प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ। उक्त शेयर विदेशमै बस्ने नेपालीहरूले मात्रै खरिद गर्न पाउने छन्।

त्यस्तै, संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउने भएको छ। निष्कासन गर्न लागिएको शेयर डिम्याट खाता भएका नेपालीले मात्रै आवेदन दिन पाउने छन्। डिम्याट खोल्न नौ वटा बैकसँग छलफल भइरहेको छ । नेपाली बैंकहरुले विश्वभर डिम्याट खाता खोल्ने सुबिधा उपलब्ध गराउने छन्।

अध्यक्ष पन्तका अनुसार शेयर आवेदकका डिम्याट खातामै शेयर आउने छ। उनीहरुले प्राप्त गर्ने शेयरको किनबेच भने नेपाल स्टक मार्फत हुने छ। जसको लागि नेपाल स्टकमा उक्त शेयर सूचीकरण गरिनेछ ।

कम्पनीले निष्कासन गरेको शेयर मार्फत संकलित रकम स्वदेशमा नै लगानी हुने छ। यतिबेला ७० भन्दा बढी प्रोजेक्टको प्रस्ताव तयार रहेको र ती मध्ये छानेर कम्पनीले लगानी गर्नेछ ।

भविष्यमा विदेशी लगानीकर्तालाई समेत समेटेर लगानी विस्तार गर्ने उद्देश्य कम्पनीले राखेको छ । नेपालमा लगानी गर्न इच्छुक त्यस्ता लगानीकर्तालाई कम्पनीमार्फत नेपालमा लगानीका लागि पनि सहजीकरण गरिने पन्तले जानकारी दिनुभयो ।

उक्त कोषमार्फत खासगरी पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने संघको उद्देश्य छ । कम्पनीमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी हुनेछ । चुरोट र रक्सीबाहेक नाफामूलक मुख्य क्षेत्रहरूमा कम्पनीले लगानी गर्नेछ । मुनाफायुक्त क्षेत्रको छनोट गरेर लगानी निश्चित गरिने पन्तले बताउनुभयो ।


प्रकाशित | ३ चैत्र २०७७, मंगलवार १३:१६