कांग्रेसको १४ औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक : के-के भए निर्णय ?

काठमाडौं – नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि पहिलो पटक बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।

महामन्त्री गगन थापाका अनुसार बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको हो ।

यस्तै, महाधिवेशनलाई शुभेच्छा प्रकट गर्नेदेखि सम्पन्न गर्न क्रियाशील भएर लाग्ने निर्वाचन समिति, सञ्चारमाध्यम लगायका सम्पूर्ण पक्षलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताउनु भयो ।

त्यसैगरी, राष्ट्रियसभाको निर्वाचनको प्रयोजनको लागि नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्न कार्यादेश दिने निर्णय गरेको छ ।

र अन्त्यमा राष्ट्रियसभा निर्वाचनका निर्वाचन आयोगमा दल दर्ताको लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दलको तर्फबाट दलको विवरण बुझाउने र अद्यावधिक गर्ने जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

बैठकमा अन्य विषयमा छलफल नभएको र शीर्ष नेताहरूलाई यसअघिकै वरीयतामा राखिएको महामन्त्री थापाले बताउनुभयो ।


प्रकाशित | १० पुष २०७८, शनिबार १६:२३