एनआरएनएको पहलमा कोरियाले नेपाललाई दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी पठाउँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ कोरियाको पहलमा कोरिया सरकारले नेपालमा दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री पठाउने भएको छ । एनआरएनए कोरियाले यसअघि सरकारसँग सम्बन्धीत विभिन्न नेता तथा अधिकारीसँग भेट गर्दै नेपाललाई सहयोगको लागि आग्रह गरेको थियो ।

एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलका प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गर्नु भएको थियो ।

उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो। उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने अध्यक्ष सुवेदीले जानकारी गराउनु भयो ।

त्यस्तै, एनआरएनए कोरियाको संयोजनमा विभिन्न संघसंस्थाहरुले नेपालमा १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउँदैछन् । एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले करिव १ करोड नेपाली रुपैयाँ वरावरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन लागिएको जानकारी गराउनु भयो ।

स्मरण रहोस :- यसअघि पनि पहिलो चरणमा कोरियाबाट एनआरएनएको नेतृत्वमा कोभिड टेक्स गर्ने ४ हजार किट पठाएर नेपालका कोभिड प्रभावितलाई ठूलो सहयोग गरिएको थियो ।


प्रकाशित | १२ जेष्ठ २०७८, बुधबार १४:२१