नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलमा शौचालयदेखि अन्य सबै क्षेत्र सफा र चिटिक्क हुनुपर्ने बताउनु भएको छ । मन्त्री आलेले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा सुरक्षा र सरसफाइमा विशेष ध्यान दिन कर्मचारीलाई निर्देशन दिनु भएको हो ।

विमानस्थलको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री आलेले  विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने बताउनु भयो ।

‘विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा शौचालदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस्’, उहाँले भन्नु भयो ।

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्नु भएको थियो । अनुगमनकै क्रममा उहाँले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिनुभएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँका अनुसार मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिनुभएको छ ।

 


प्रकाशित | ९ पुष २०७८, शुक्रबार २१:०१