आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटिरहेको जानकारी दिनु भएको छ ।

निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा बोल्दै थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आयोग बैशाख २० गतेको तयारीमा जुटेको बताउनु भयो ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्रै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उहाँको भनाइ छ ।

उहाँले छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने तयारी भइरहेको पनि बताउनु भयो । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग लागिपरेको बताउनु भयो ।

 


प्रकाशित | ७ पुष २०७८, बुधबार १६:५२