आसन्न निर्वाचनबाट कांग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ: विश्व प्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा निर्वतमान पार्टी प्रवक्ता समेत रहेका शर्माले पार्टीको महाधिवेशनका कारण देशभर देखिएको जागरणले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दाबी गर्नुभएको हो ।

महामन्त्री शर्माले महाधिवेशनको दौरान उत्पन्न विजयी र पराजित मनोविज्ञान तथा भावनालाई समेटेर पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले आफ्नो जित सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावना प्रतिबिम्बित भएको बताउनुभयो ।

महामन्त्री शर्माले प्रेस स्वतन्त्रता सम्बनिध संविधानले प्रत्याभूत गरेको प्रावधानलाई कुण्ठित हुने गरी आएका र आउने कुनैपनि ऐननियम स्वीकार नहुने दृढता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आफु अब फरक भूमिकामा रहने भएपनि प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधै कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १७:३४