आज योमरी पुन्ही मनाइँदै

काठमाडौँ – मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।

तिहारमा देउसी/भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बूढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथिभाई, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान प्रदानको रुपमा पनि लिने गरिएको छ ।

योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहणलीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी/मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाई छ ।


प्रकाशित | ४ पुष २०७८, आईतवार ०७:३४