एनआरएनएमा भागबन्डाको आधारमा नेतृत्व चयन गर्ने कुरामा मेरो सहमति छैन : डा. बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गर्ने पक्षमा आफ्नो सहमति नहुने बताउनु भएको छ । एनआरएनए जस्तो संसारभरिका लाखौ गैर आवासीय नेपालीहरुले विश्वास गरेको संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गरिनु दुखद हुने भन्दै त्यस्तो प्रस्तावमा आफ्नो सहमति नभएको बताउनु भयो ।

‘एनआरएनमा नेतृत्वसहित ५२ जनाको पदमा एक सय जना भन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेको अवस्थामा अध्यक्षका उम्मेदवारले मैले भाग पाए भनेर चुप लागेर बस्नु त्यो भन्दा दुखदायी केही पनि हुन सक्दैन’, डा. केसीले भन्नु भयो ।

अहिलेको मुख्य समस्या डेलिगेट्सको रहेको बताउँदै डा. केसीले प्रतिनिधि विवाद टुंग्याएर चुनावी प्रक्रियामा जाँदा भने सहमति गर्न सक्ने सम्भावना भए पनि अहिले त्यो सम्भावना नरहेको बताउनु भयो ।

डा. केसीका अनुसार कुल आचार्य र आफूलाई आलोपालो सहमति गरेर कार्यकालमा भागबन्डा गर्ने प्रस्ताव आएको हो । स्रोतका अनुसार त्यो प्रस्ताव कुल आचार्यले अग्रजहरुमार्फत् डा. केसीलाई राख्न लगाउनु भएको थियो ।

डा. केसीले संस्थाका अग्रजहरुबाटै त्यो प्रस्ताव आएको बताउनु भयो । ‘एक त हामी दुई जना मात्र उम्मेदवार छैनौ । अर्को कुरा त्यो प्रस्ताव परिपक्प पनि छैन भनेर मैले अस्वीकार गरेँ । चुनावको पनि प्रक्रिया हुन्छ । जस्तो उम्मेदवारी दर्ता हुन्छ, फीर्ता गर्ने समय हुन्छ, त्यो बेला सहमति हुन सक्यो भने छुट्टै कुरा तर अहिले यो सारै चाँडो भयो भने र डेलिगेट्सको टुंगो नलगाईकन सम्भव छैन भने’, डा. केसीले भन्नु भयो ।

डा. केसीले अहिलेको अवस्थामा सस्थाको गतिरोधलाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनु भयो । ‘विधानत प्रतिनिधि छनौट भएर नआउँदा अहिलेको समस्या आएको बताउँदै उहाँले भन्नु भयो, ‘केहि एनसिसीहरुबाट दुई वा तीन वटा प्रतिनिधिको सूची आएको छ । त्यसैले जुन जुन देशमा समस्या छ, त्यहाँबाट सहमति गरेर विधानको नजिक नजिक हुने गरि, ब्यक्तीलाई घाटा भए पनि संस्थाको हित हुने गरि लचकता भने अपनाउन सकिन्छ तर कुनै पनि ब्यक्तिलाई चुनावमा जिताउनका लागि संस्थालाई गत्यारोध बनाइ राख्न पाइन्न ।’


प्रकाशित | ३ पुष २०७८, शनिबार १०:३७