एनआरएनए विवाद समाधान समितिले एक साताभित्र संस्थालाई निकास दिनुपर्छ: रविना थापा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले विवाद समाधान समितिले एक साताभित्र संस्थालाई निकास दिनुपर्नेमा जोड दिनु भएको छ । संस्थामा देखिएको विद्यमान समस्या समाधानका लागि गठीत सर्वपक्षीय समितिले एक साताभित्र संस्थालाई निकास दिएर निर्वाचन गरिनुपर्नेमा थापाले जोड दिनु भएको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तले बुधबार सबै पक्षलाई समेटेर एक उच्चस्तरीय विवाद समाधान समिति गठन गर्नु भएको थियो । विवाद समाधान समिति गठन सँगै यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका पनि स्थगन गरिएको थियो ।

थापाले सो समितिले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने बताउनु भयो । चुनाव लम्ब्याउने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिर्दै थापाले चुनावको विकल्प नभएकाले चुनावमा जान कोही पनि डराउन नहुने पनि बताउनु भयो ।

विश्व सन्देशसँगको कुराकानीमा थापाले सहमति, सहकार्यको आधारमा नेतृत्व चयन सम्भव नभएको बताउँदै सहमति हुने भए यतिञ्जेल किन चुनाव हुन नसकेको भन्दै प्रश्न पनि गर्नु भयो ।


प्रकाशित | १ पुष २०७८, बिहीबार २०:३७