जनसम्पर्क समिति अमेरिकामा विवाद, निर्वाचन स्थगीत गर्न माग गर्दै उजुरी

न्यूर्योक – नेपाली जनसम्पर्क समिति अमेरिकामा निर्वाचनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । अमेरिकामा आफूखुसी आम सदस्यहरुको भावनाविपरीत निर्वाचनको मिति तोकिएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन स्थगीत गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी दिएको हो ।

आइतबार न्यूयोर्कको स्थानीय समय ९ बजे र नेपालको साँझ ७: ४५ बजेदेखि प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा हुन लागेको महाधिवेशन स्थगीत गर्न माग गरिएको हो । पार्टीका सभापतिसहित, केन्द्रीय कार्यसमिति, केन्द्रीय निर्वाचन समितिलाई संयुक्त रुपमा पठाइएको उजुरीमा आम सदस्यहरूको भावना विपरीत हुन लागेको अधिवेशन स्थगित गरी सबैको सहभागिता सम्भव हुने गरी अधिवेशनको नयाँ मिति तोक्न आग्रह गरिएको छ ।

’नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा हालै सार्वजनिक भएको सूचनामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन लागेको खबरले अमेरिकाका हामी बहुमत क्रियाशील सदस्यहरू स्तब्ध भएका छौं’, उजुरीमा भनीएको छ, ’सबै सदस्यलाई अधिवेशनमा सहभागी नै हुन नदिने गरी बोलाइएको कार्यक्रममा पद र पार्टीको गरिमालाई समेत ध्यान दिनुहुन अनुरोध गर्दछौ ।’

सात वर्षसम्म हुन नसकेको अधिवेशनको लागि एकदिन अघि सूचना जारी गरेर अधिवेशनमा सहभागी हुन पाउने आम सदस्यहरूको अधिकार हनन गरिएको मात्र नभई अधिवेशनमा सहभागी भई उम्मेदवारी दिन पाउने अधिकारबाट समेत बञ्चित गरिएको उजुरीमा उल्लेख छ ।

त्यस्तै, उजुरीमा भनीएको छ, ’न त निर्वाचन समिति, न त उम्मेदवारी दिने समय र स्थान, सो कस्तो खालको निर्वाचन गर्दैछौं हामी ? इच्छुक सदस्यले उम्मेदवार हुन कहाँ कहिले कसलाई निवेदन दिने हो ? २४६२ क्रियाशील सदस्य र अरु हजारौ सदस्य कून जुमबाट सहभागी हुने हुन ? गम्भीर भएर सोच्न अनुरोध गर्दछौं ।’

जनसम्पर्क समिति अमेरिकाका उपसभापति प्रतीक पाण्डे, अनन्त सुवेदी, सुवास घिमिरे, महासचिव मुक्तीनाथ घिमिरेलगायतले सबैको भानालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै आइतबार गर्ने भनीएको महाधिवेशन स्थगीत गर्न माग गर्नु भएको हो ।

उता जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा प्रतिनिधित्वका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तोकी डिसेम्वर ५ तारिखमा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन सम्पन्न गर्नका लागि परिपत्र जारी भएको जनाउनु भएको छ ।

अध्यक्ष विष्टले जारी गर्नु भएको विज्ञप्ति अनुसार आइतबार हुन लागेको तेस्रो महाधिवेशनमा प्रधानमन्त्री शेर बहादुर देउवाले मर्चुअल रुपमा उद्घाटन गर्नुहुनेछ भने अन्य केन्द्रीय नेताहरु पनि सहभागि हुनेछन् ।

पार्टी केन्द्रीय समितिले जनसम्पर्क अमेरिकाको अधिवेशन सम्पन्न गर्न जापानका पूर्व सभापति नारायण प्रसाद सुवेदीलाई तोकेको छ ।


प्रकाशित | १९ मंसिर २०७८, आईतवार १४:२७