विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा समस्या

विराटनगर: प्रदेश–१ सरकारले ठूलै तामझामका साथ सञ्चालनमा ल्याएको विराटनगरस्थित तरकारी र फलफूलको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा समस्या देखिएको छ । संघ र प्रदेशअन्तर्गतका कार्यालयबीच समन्वय अभावमा प्रयोगशाला सञ्चालनमा समस्या देखिएको हो ।

संघीय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयले भारतबाट आयात हुने तरकारी परीक्षण गर्न नमूना नपठाउँदा विषादी प्रयोगशाला पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । सुनसरीको भन्टाबारी नाकाबाट आयात हुने केही तरकारीमात्रै परीक्षण गर्न ल्याउने गरेको पाइएको छ । यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।

प्रदेश सरकारले करिब २५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको प्रयोगशालामा विषादी परीक्षण गर्न नपाउँदा तरकारी र फलफूल व्यापारीलाई समेत समस्या भएको छ । व्यापारीहरूले विषादी परीक्षणकै लागि झापाको विर्तामोडस्थित प्रयोगशालामा पु¥याउनुपर्ने बाध्यता रहेको छ । जसका कारण झन्झट व्यहोर्नुपरेको व्यापारी बताउँछन् । “विषादी परीक्षण प्रयोगशाला स्थापना भएपछि निकै खुसी लागेको थियो,” तरकारी व्यापारी मन्टु सहनी भन्छन्, “तर, सरकारी कार्यालयबीचको झन्झन्टिलो प्रक्रियाका कारण विर्तामोड पुग्नुपर्ने अवस्था छ ।”

“संघीय सरकारले आयातित तरकारीको विषादी परीक्षण विराटनगरमै गर्ने व्यवस्था तत्काल मिलाउनुपर्छ,” यादवले भने, “विराटनगरबाट तरकारीको परीक्षण नहुँदा धेरै झन्झन्ट बेहोर्नु परेको छ ।”

प्रदेश–१ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा तरकारी तथा फलफूलमा पाइने विषादी परीक्षण गर्न विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला गत असार २५ गतेदेखि नै सञ्चालनमा ल्याएको थियो ।

हाल भन्टाबारी नाकाबाट मात्र न्यून मात्रामा विषादी परीक्षणका लागि तरकारी आउने गरेको प्रयोगशालाका नायव सहायक प्राविधिक सीता बरालले जानकारी दिइन् । प्रयोगशालामा हाल आलु र प्याज त्यो पनि न्यून मात्रामा परीक्षणका लागि आउने गरेको छ । भन्टाबारी भन्सार कार्यालयबाट भारतीय आलु र प्याजको परीक्षण गर्न मात्र नमूना आएको बरालले बताइन् । ३५ इन्हिविसनसम्म विषादी पाइएमा त्यसलाई खानयोग्य मानिएको छ । जसमा परीक्षण गर्दा अधिकतम् ३१ इन्हिविसनसम्म मापन गरिएको छ ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १३:५४