निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि नगर्न एनआरएनएको आह्वान

काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/ नगराउन अपिल गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन अपिल गर्नु भएको हो ।

विज्ञप्तिमा भनीएको छ, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ ।’

संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको भन्दै कार्यक्रममा सहभागि नहुन विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको र सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्नर नगराउन भनेको पनि जनाइएको छ । साथै उक्त आदेशपछि निर्वाचन समितिले आसन्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको बताइएको छ ।

हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान पनि गरिएको छ । साथै आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिन सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई अनुरोध गरिएको छ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार २१:११