टेक्ससमा ‘नेपाली युवा सम्मेलन’, ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ को घोषणा

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको युथ र स्टुडेन्ट विभागको आयोजनामा अमेरिकामा पहिलो पटक युवा-विद्यार्थी समस्याका विषयमा छलफलको प्रारम्भ भएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक भएको कार्यक्रम युवा-विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो ।

कार्यक्रममा युवा तथा विद्यार्थीका समग्र विषयमा छलफल हुनका साथै समस्या समाधानमा खेल्नुपर्ने भूमिकाको विषयमा पनि सुझाव आएको थियो । युवा, विद्यार्थीले आफूले भोग्नुपरिरहेका विभिन्न समस्याका बारेमा खुलेर प्रश्न गरेका थिए भने अतिथिहरुले प्रश्नलाई सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली बिद्यार्थी तथा युवाका साथै एनआरएनएका अग्रज तथा नेतृत्व वर्गका साथै सरोकारवाला ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

टेक्ससको डालसमा आयोजना गरिएको कार्यक्रममा युवा- विद्यार्थीका समस्या सुनेपछि युवा तथा विद्यार्थीको समस्या समाधानमा सहयोग पुग्ने हेतुले ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ को समेत घोषणा गरिएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले युवा -विद्यार्थीको समस्या सुन्ने मात्र नभई समस्या समाधानमा पनि एनआरएनए एनसिसी लागिपर्ने भन्दै ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ को घोषणा गरिएको बताउनुभयो ।

एनआरएनए युवा -विद्यार्थीका समस्या समाधानमा दिर्घकालीन योजना बनाएर लाग्ने भन्दै अध्यक्ष शाहले विद्यार्थीहरुबाट यस्ता गतिविधी सञ्चालन गर्न आर्थिक समस्या भएको गुनासो आएपछि ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ घोषणा गरिएको बताउनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर एनआरएनए अमेरिकाका अध्यक्ष सुनीलकुमार साहले सिड मनिका रुपमा २ हजार डलर सहयोगको घोषणा समेत गर्नुभयो । सो कोषलाई अझै बृद्धि गर्दै लैजाने र युवा तथा विद्यार्थीका नियमीत कार्य सञ्चालनमा सहजता प्रदान गर्दै जाने अध्यक्ष शाहले बताउनुभयो ।

साथै कार्यक्रममा अतिथिका रुपमा सहभागि एनआरएनए आइसिसी सचिव गौरी राज जोशीले पनि ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ को लागि २ हजार डलर सहयोग गर्ने घोषणा गर्नुभयो ।

युवा-विद्यार्थी भेला भने एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ, एनआरएनए आईसीसी सचिव गौरीराज जोशी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए पूर्व अध्यक्ष डा.केशव पौडेल, एनआरएनए टेक्सस च्याप्टर राजेश अर्याललगायतले मन्तब्य राख्नुभएको थियो ।

नेपाली राजदुत कार्कीले कार्यक्रम उद्घाटन गर्नुहुँदै दुतावासबाट गर्न सकिने जुनसुकै सहयोग गर्न तयार रहेको र युवा-विद्यार्थीलाई दूतावासबाट प्राप्त सेवा सुविधाको विषयमा पनि सचेत भएर जानकारी लिन आग्रह गर्नुभएको थियो ।

टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायका युवा तथा बिद्यार्थीको बाक्लो उपस्थिती रहेको कार्यक्रम सन्देश उप्रेतीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।

एनसिसी अध्यक्ष शाहले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराउनुभयो । एनआरएनए युवा- विद्यार्थीको ढुकढुकी बन्दै अगाडि बढिरहेको र अन्य आवश्यकीय सरसल्लाह तथा सुझाव भए दिन समेत सबैमा आग्रह गर्नुभयो ।

अध्यक्ष शाहले कार्यक्रममा एनआरएनए अमेरिकामा युवाहरुको सहभागीता, युवा विद्यार्थीका समस्या र गैर आवासीय नेपाली संघको भूमिका लगायतका बिषयमाथी खुलेर निकै बृहत्त रुपमा छलफल भएकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।


प्रकाशित | १३ फाल्गुन २०७६, मंगलवार १०:२१