एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरियो : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचनको कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व सम्मेलनलाई विथोल्ने उद्देश्यले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विरोध जनाउनु भएको हो ।

बुधबारको लागि आह्वान गरिएको एनसिसीहरुको विश्व सम्मेलनमा ५० भन्दा बढी एनसिसीहरु सहभागि हुन लागेको र कार्यक्रमको पूर्व सन्ध्यामा निर्वाचन कार्यतालिका सार्वजनिक गरिनु कार्यक्रम बिथोल्ने उद्देश्य नै रहेको उहाँको भनाइ छ । ६ तारिखपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्न पनि सकिन्थ्यो तर आजै किन सार्वजनिक गरियोे भन्दै प्रश्न  गर्नु भयो ।

साथै लामाले विश्व सम्मेलनमा सहभागि हुने एनसिसीहरुलाई सम्बन्धन रद्द गर्ने जस्ता धम्की दिदैं सहभागि नहुन सर्कुलर गरिएकोमा पनि आपत्ति जनाउनु भयो ।

उपाध्यक्ष लामाले संस्थाको नाम दुरुप्रयोग गर्दै संस्थामा छलफल नै नगरि एक्लौटी रुपमा अदालतमा सरकारविरुद्ध मुद्दा दायर गरिएको र त्यसमा आफूहरुको समर्थन नहरेको बताउनु भयो ।

उच्च अदालत पाटनले आगामी ५ तारिखमा दुवै पक्षलाई बोलाएर छलफल गर्न आह्रवान गर्नुपूर्व निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर गैर आवासीय नेपालीहरुमा भ्रम छर्ने र झुठको खेती गर्ने कार्य भएको उहाँको भनाइ छ ।

उहाँले अदालत वा अन्य निकायबाट नभई सहमति र सहकार्य गर्दै आगडि बढ्नुपर्नेमा जोड दिर्दै विवादीत विषय टुंग्याएर मात्र निर्वाचनमा जानुपर्ने बताउनु भयो ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार २०:१८