एनआरएनए टोलीद्धारा पोर्चुगलका राष्ट्रपतिसँग भेटभाट: भिसा सुविधा सहज उपलब्ध गराउन माग

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पोर्चुगलका राष्ट्रपतिसँग भेटघाट गरेको छ । भेटघाटको अवसरमा नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिसा सुविधा सेवा उपलब्ध गराउन माग गरिएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको विशेष पहलमा पहिलो पटक पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग भेटभाट भएको हो । सो भेटभाटको अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुको समस्या लगायतका बिविध बिषयहरुमा राष्ट्रपतिसँग प्रतिनिधी मण्डलले छलफल गरेको थियो ।

एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले पोर्चुगलमा नेपालीहरु कस्ता छन अनि उनीहरुलाई हेर्ने नजर कस्तो छ भन्ने अनुभब पोर्चुगलका राष्ट्रपतिबाट लिने अवसर मिलेको बताउनुभयो । अध्यक्ष कार्कीले भेटभाटपछि सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘ मिलनसार सरल व्यक्तित्वका धनी पोर्चुगलका महामहिम राष्ट्रपतिले हामीलाई स्वागत तथा माया पूर्वक भेटघाट गर्नु भयो नेपाललाई साह्रै माया गर्नु हुनुहुँदो रहेछ । गैरआवासीय नेपाली संघ पोर्चुगलको इतिहासमा नै पहिलो पटक राष्ट्रप्रमुखलाई भेटघाट गर्ने अबसर मियो ।’

साथै नेपाल हाउस अर्थात नेपाल गार्डेन साथै नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिजा सेवा उपलब्ध गराउन समेत माग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार नेपाली समुदायहरुलाई भाषा स्कूल र नेपालमा राजदूतावास स्थापना साथै नेपालीहरुलाई पोर्चुगलमा भैपरी आउने समस्याको बारेमा विस्तृत रूपमा छलफल तथा जानकारी गराइएको छ ।

नेपाली जनसम्कर्प समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरेका अनुसार भेटभाटको अवसरमा नेपालमा अधिकार सम्पन्न पोर्चुगिज कुटनैतिक नियोगको स्थापना र पोर्चुगलमा नेपाल गार्डेनको निर्माण लगायतका बिषयमा प्रतिनिधी मण्डलले राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको थियो । यसको प्रतिउत्तरमा राष्ट्रपतिले परराष्ट्र मन्त्रालय र नेपाल गार्डेनको लागि स्थानीय नगर प्रमुखसँग वार्तालाप गरि सहयोग गर्ने आश्वासन दिनुभएको घिमिरेले जानकारी गराउनुभयो ।

तस्विर : कुवेर कार्कीको फेसबुकबाट

‘पोर्चुगलका राष्ट्र प्रमुखस्ँग नेपाली समुदायको गैर कुटनैतिक  पहिलो भेट हो’, सम्कर्प समिति पोर्चुगल अध्यक्ष घिमिरेले भन्नुभयो, ‘पोर्चुगलमा नेपाली समुदायको उपस्थिती करिब तिन दशक पुरानो छ । नेपाली समुदायहरु पोर्चुगलको भूमिमा बढ्दै जाने क्रमसँगै विगत ३० वर्षदेखि नेपालीहरु बस्दै आएका छन् ।’

भेटमा एनआरएनए अध्यक्ष कुबेर कार्की, आईसिसी सदस्य नरेन्द्र हमाल, पुर्व अध्यक्ष तथा पर्यटन बोर्ड प्रतिनिधी रमेश कुमार गुरुङ, जनसम्पर्क अध्यक्ष बिनोद घिमिरे, प्रवासी मञ्चका अध्यक्ष गोबिन्द पौडेल, पत्रकार योगेन्द्र मिलन छन्त्याल तथा विद्यार्थी देव पुन सम्मिलित हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपतिलाई एक ध्यानाकर्षण पत्र पनि हस्तान्तरण गरिएको थियो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १४:४३