सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गरियोस: कुल आचार्य

काठमाडौं –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गर्न आग्रह गर्नु भएको छ । आचार्य टिमले आइतबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै सरकारसँग झगडा गर्ने र संरक्षकहरुमाथिको गाली गलौज गर्ने कार्य बन्द गर्न आग्रह गर्नु भएको हो ।

एनआरएनएले सरकारसँग झगडा गर्ने र जुहारी खेल्ने कार्य गरिरहेको भन्दै उहाँले विरोध जनाउनु भयो । आचार्यले एनआरएनएले सरकारको विरुद्धमा अदालतमा मुद्दा दिनु गैर आवासीय नेपालीहरुको भावनाविपरीत र अभियान समाप्त पार्ने खेल भएको बताउनु भयो ।

‘म यस्ता दुष्प्रयासबाट टाढा बस्न र अभियानलाई नै असर पर्ने गरि कार्य नगर्न, संरक्षकहरुमाथि अपमान र गाली गलौच बन्द गर्न चेतावनी दिन चाहान्छु’, आचार्यले भन्नु भयो ।

उहाँले कसैको ब्यक्तीगत ब्यापारिक स्वार्थ पूरा गर्न संस्थालाई दूरुप्रयोग गर्ने कार्य भइरहेको आरोप पनि लगाउनु भयो । ‘यो संस्था किन र कसका लागि बनाइएको हो ? संसार भरिका गैर आवासीय नेपालीहरुको दुख: सुखमा साथ दिन, नेटवर्कलाई उपयोग गरेर नेपालसँग जोड्ने र नेपालको सम्मृद्धिको लागि उपयोग गर्नका लागि कि कसैको ब्यक्तीगत ब्यापारिक स्वार्थ पूरा गर्नका लागि हो भन्ने कुराको पुष्टि भएको छ’, उहाँले थप्दै भन्नु भयो ।

संस्थालाई दुरुप्रयोग गरेर अहिलेको परिस्थिति सिर्जना गरिएको बताउँदै उहाँले आफूहरु संस्थामा पद्धति र पादर्शीताको लागि लडिरेहको बताउनु भयो । यतिखेर संसारभरी रहेका गैर आवासीय नेपालीहरुले सोच्नुपर्ने बेला आएको आचार्यले  बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुलाई झुक्याएर संस्था नचल्ने बताउँदै भन्नुभयो, ‘झुठको खेती नगरौ, झुक्याउने काम बन्द नगरौ, गैर आवासीय नेपालीहरु सचेत भइसकेका छन् ।’

साथै उहाँले परराष्टले दिएको म्यान्डेटअनुसार संरक्षक परिषद्भन्दा दाया बायाँ नगर्न र विवाद समाधान गरि निर्वाचन गर्न सहयोग गरिनुपर्नेमा जोड दिनु भयो ।

संस्थाका सल्लाहकार त्रिलोक गुरुगंले प्रमुख संरक्षक शेष घले र संरक्षक देवमान हिरचन माथि आक्षेप लगाउने कार्य भएकोमा आपत्ति जनाउनु भयो । साथै उहाँले संस्थापन पक्षले आफ्नो गल्ती स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो । अहिलेको समयमा एक अर्कालाई आरोप लगाउने नभई आफना्े गल्ती कमजोरीलाई सच्याएर अगाडि बढ्न उहाँले आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष सोनाम लामा र मन केसीले अध्यक्षले कसैलाई जानकारी नदिई एक्लौटी रुपमा सरकारको विरुद्ध मुद्दा मामिला गरेको भन्दै आफूहरुको त्यसमा सहमती नरहेको बताउनु भयो ।

एनआरएनएमा आगामी कार्यकालका लागि महासचिवका उम्मेदवार डा केशव पौडेलले संस्थामा जालझेल गरेर जसरी पनि कब्जा गर्ने काम हुँदा अहिलेको अवस्था आएको बताउनु भयो । संस्थालाई प्रयोग गरेर आफनो ब्यापार ब्यवसाय गर्नेहरुले संस्था जसरी पनि कब्जा गर्न लागेको र त्यसको प्रतिकार गर्दा एनआरएन अभियान नै ध्वस्त पार्न खोजीएको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए महिला उपाध्यक्षको उम्मेदवार जानकी गुरुगं र कतारबाट सन्नी ओलीलगायतले संस्थालाई सरकारविरुद्ध मुद्दा मामिलामा फसाउने कार्य गरिएको भन्दै विरोध गर्नु भएको थियो ।


प्रकाशित | १२ मंसिर २०७८, आईतवार २३:११