कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो ।

अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी निवासमा भएको समारोहका बीच पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ‘अभिलेखबद्ध पहिलो एनआरएन सदस्यका रूपमा विभूति अरनिकोलाई मान्न सकिने भनेर संस्कृतिविद् जोशीले दिएको सुझावअनुसार’ यो पुरस्कारको नामकरण गरिएको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्त, उपाध्यक्ष रविना थापा, एनआरएन भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापा, गोविन्द प्रसाद गौतमलगायतको सहभागिता थियो ।

ध्रुवचन्द्र गौतम संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको निर्णायकमा ज्ञानू पाण्डे, हरिराज भट्टराई र नयनराज पाण्डे सदस्य हुनुहुन्थ्यो।


प्रकाशित | २८ कार्तिक २०७८, आईतवार १०:११