नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले नेपालका राजनीतिक दलका नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ ।

एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसी प्रति लक्षित गर्दै आचार्यले तिहारको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्नुहुँदै नेपालका नेताहरुले नपत्याएपछि हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको हो ।

संघका सल्लाहकार समेत रहनु भएको आचार्यले संस्थामा भएका गल्तीलाई सुधार गर भनेर कसैले भन्दा त्यसलाई हस्तक्षेपको आरोप लगाइएको बताउनु भयो । ‘आफूले गरेको गल्तीलाई सुधार गर्न लाग्ने कि हस्तक्षेप भनेर बस्ने ?’ उहाँले प्रतीपश्न गर्दै भन्नु भयो ।

नेताहरुसँग भेटघाट गर्दैमा राजनीतिकरण भयो भन्नु गलत हुने बताउनु भयो । ‘यो संस्था हामी सबैको हो । सबै गैर आवासीय नेपाली अटाउने साझा संस्था बनाउने हाम्रो अभियान छ,’ आचार्यले भन्नुभयो । परराष्ट्र मन्त्रालयमा जाँदा हस्तक्षेप भयो भनिएको छ । नेताको घर दैलो धाउने, फेसबुकमा तस्वीर राख्ने र नेताले नपत्याएपछि राजनीति भयो भन्ने ? उहाँले प्रश्न गर्नु भयो ।

विधान सम्मत हिसाबले, नयाँ जनमत लिएर आएका एनसीसीहरुको हालै सम्पन्न विश्व भेलाले पारित गरेका निष्कर्षहरुलाई सम्मान गरेर अगाडि बढ्न पनि उहाँले आग्रह गर्नु भयो ।

गैर आवासीय नेपालीहरुलाई मातृभूमीसँग जोड्न आवश्यक रहेकोमा जोड दिर्दै संसारभरिका एनआरएनहरुले चाहेको उद्देश्य प्राप्तिको लागि अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । आचार्यले संघको निर्वाचन छिटो भन्दा छिटो गर्न पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा एनआरएनएका विभिन्न अग्रज, अभियन्ता तथा निर्वाचनका उम्मेदवारहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए ।


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार २२:०६