एनआरएनएको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग

काठमाडौं – गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरिएको छ । आइतबार भर्चुअल रुपमा आयोजना गरिएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको विश्व भेलामा बोल्ने वक्ताहरुले हाल स्थगित गरिएको संघको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरेका हुन ।

भेलामा बोल्ने वक्ताहरुले एनआरएनलाई एकताबद्ध बनाउन पनि आग्रह गरेका छन् । एनआरएनएमा सबैको अपनत्व हुनेगरि बढ्न पनि उनीहरुले सुझाव दिएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गैर आवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको भावना र धारणाको सुनुवाइ गर्नुपर्ने सुझाव दिनु भयो ।

नेपाली कांग्रेसका सह महामंत्री समेत रहनु भएको महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गर्नु भयो । ‘विधि र पद्धति अनुसार एनआरएनए चलोस् भन्ने हाम्रो मूल उद्देश्य हो, डेमोक्रेटिक स्पिरिट अनुसार, एनआरएनएको विधि र प्रक्रिया अनुसार, समस्या समाधान गरेर चाँडो भन्दा चाँडो टुंगोमा पुग्नुपर्छ’, पूर्व मन्त्री महतले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय कमिटिले पनि समस्याहरु टुंगोमा पुर्याउनुपर्छ ।’

संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमै नरहेको दावी गर्नु भयो ।

This image has an empty alt attribute; its file name is ncc-conference-1-1024x768.jpg

उहाँले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताउनु भयो। ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उहाँले भन्नु भयो ।

संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थालाई कसैको ब्यक्तिगत स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भयो । गैर आवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हित या व्यक्तिगत स्वार्थमा काम गरेको भन्ने कुरालाई छुट्याउनु पर्ने बेला आएको पनि उहाँले बताउनु भयो ।

दशौं महाधिवेशन सकेर अब बाँकी रहेका कामहरु गैर आवासीय नेपालीका नागरिकता, सम्पत्तिका सुरक्षा देखि सामूहिक लगानी र सामूहिक सुरक्षा कोष लगायतका विषयमा काम गर्नु पर्ने बेला आएको आचार्यले बताउनु भयो ।

संघका सल्लाहकारहरू विश्व आदर्श पण्डित, त्रिलोक गुरुङ, सोम सापकोटा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरु लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर भएको बताउनु भएको थियो ।

कार्यक्रममा भेलाका संयोजक बुद्धिसागर सुवेदीले एनआरएनमा देखिएको समस्याको जड पत्ता लगाएर समाधान गर्न माग गर्नु भयो । हवाइजहाज क्याप्टेनले मात्र उडाउन नसकेकाले सबै मिलेर अगाडि बढ्न नसकेमा दुर्घटनामा पर्नसक्ने टिप्पणी गर्नु भयो ।

विधानमा एनसीसी अध्यक्षहरुको भेला गर्न सकिने स्पष्ट लेखिएको उहाँले बताउनु भयो । संयोजक सुवेदीले भन्नु भयो, ‘संस्था रहेमा हामी सबै रहन्छौं । संस्थाका कारण हामी यो ठाउँमा आइपुगेका छौं । एनसीसीहरुले स्वायत्त रुपमा काम गर्न पाउनुपर्छ।’

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति अमेरिकाका बिष्णु सुवेदी लगायतका वक्ताले शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिनु भएको थियो ।

उद्घाटन सत्र एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कँडेलले संचालन गर्नु भएको थियो । उदघाटन सत्र सकिएपछि शुरु भएको बन्द सत्रमा सहभागीहरुले नेपालमा भएको भारी वर्षाका कारण बाढी, पहिरोमा परि भएको धनजनको क्षति तथा एनसीसीहरुबाट सहयोग, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा राष्ट्रिय समन्वय परिषदहरुमा गरिएका पत्राचारमा देखिएको भिन्नता र अन्तर्य, आइसीसीको विधान र परराष्ट्रको पत्र, ६५ प्रतिशत डेलिगेटस चयनमा नयाँ कार्यसमितिको भूमिका तथा संस्थालाई निकास दिन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा संरक्षक परिषद्को भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।


प्रकाशित | ८ कार्तिक २०७८, सोमबार १०:१८