कुल आचार्य नेतृत्वलाई जिताउन कांग्रेसको जनसम्पर्क समितिहरुलाई परिपत्र (विज्ञप्तिसहित)

काठमाडौं-  गैर आवासीय नेपाली संघको आगामी १० औं महाधिवेशनमा कुल आचार्य नेतृत्वलाई जिताउन नेपाली कांग्रेसले प्रवासस्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा विश्वभरिका जनसम्पर्क समितिलाई सो परिपत्र जारी गरिएको हो ।

पौडेलद्धारा जारी विज्ञप्तिमा भनीएको छ, ‘गैर आवासीय नेपाली संघको महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि पार्टीका तर्फबाट गठित समितका संयोजक एवम महामन्त्री पूर्ण बहादुर खडकाको संयोजकत्वमा असोज ७ गते बसेको बैठकको निर्णयअनुसार नेपाली कांग्रेससँग सम्बद्ध विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुले कुल आचार्यको नेतृत्वमा रहेको लोकतन्त्रवादी समूहलाई विजयी गराउन आआफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

बैठकले युरोप, एशिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशियाना क्षेत्रका देशरुमा पार्टीको तर्फबाट आवश्यक समन्वय गर्नका लागि पार्टी केन्दीय पदाधीकारी एवम् सदस्यहरुलाई जिम्मेवारी तोकिएको पत्रमा उल्लेख छ ।

विज्ञप्ति अनुसार युरोप क्षेत्रमा समन्वय गर्नका लागि सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन कुमार थापा, एशिया क्षेत्रका लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी रहनु भएको छ ।

त्यस्तै, अमेरिकाजे क्षेत्रका लागि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्वक्षेत्रका लागि केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्मा रहनु भएको छ ।

त्यस्तैगरि, ओसिनिया क्षेत्रको जनसम्पर्क समितिहरुसँग समन्वय गर्न केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई तोकिएको छ ।


प्रकाशित | १६ आश्विन २०७८, शनिबार २१:१३