एनआरएनए उपाध्यक्षमा एसी शेर्पाको औपचारिक रुपमा उम्मेदवारी घोषणा

न्यूर्योक –  गैर आवासीय नेपाली संघ (एनआरएनए) आसन्न निर्वाचनमा आङ्गछिरी (एसी) शेर्पाले उपाध्यक्ष पदमा आफ्नो औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । शेर्पाले आफू लामो समय देखि गैर आवासीय नेपालीहरुको मुख्य मुद्धामा केन्द्रित रहेर जिम्मेवारीमा रहँदा र नरहँदा नियमित रुपमा सेवा गर्दै आएको बताउँदै यो पटक उपाध्यक्षको लागि उम्मेदवार दिन लागेको बताउनु भयो ।

उहाँले प्रमुख रुपमा गैर आवासीय नेपाली नागरिकता, नेपालमा लगानी, नेपालको पर्यटन बिकास र प्रबर्धनमा योगदान, नेपालमा सम्पत्ति सुरक्षाको लागि लवी गर्ने र संघका अन्य बिषयमा सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

नेपाल सरकारको लागि अवैतनिक महावाणिज्यदूत भएर नेपालको परराष्ट्र सेवामा सकेको सहयोग गर्दै आएको बताउँदै उहाँले आफू पर्यटन ब्यबसायी पनि भएकाले नेपालको पर्यटन क्षेत्रमा डायस्पोराका नेपालीले कस्तो खालको टेवा दिन सकिन्छ भन्ने कुरा पनि राम्ररी बुझेको बताउनु भयो । साथै उहाँले पर्यटन क्षेत्रमा योगदान गर्न बिशेष योजनाहरु समेत तयारी अवस्थामा रहेको बताउनु भयो ।

‘यस बाहेक मैले नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत भएर आफ्नो अफिसबाट नेपाल सरकारको कन्सुलर सेवा समेत प्रदान गर्ने गरेको छु,’ उहाँले भन्नु भएको छ, ‘यो समयमा नेपाली राजदूतावाससँग मिलेर ब्रेनगेन र बिजनेश कोलाबरेशन जस्ता दुइवटा सफल कार्यक्रमहरुको समेत सम्पन्न गरिसकेको छु।’

शेर्पाले गैर आवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा लगेर फहराउन सफल भएकोमा खुसी ब्यक्त गर्नु भयो । साथै उहाँले संघको लागि पहिलो गौरवशाली यात्रा सुरु गरेसँगै आफूले आइसीसी सदस्य, क्षेत्रीय उपसंयोजक भएर काम गरिसकेको अनुभव पनि बटुलेको बताउनु भयो ।

त्यस्तै, संघका लाप्राक नमुना बस्ती निर्माण, मुख्यालय भवन बनाउने  देखि भुकम्प पीडित क्षेत्रमा सहयोग लगायत सबैजसो मेगा प्रोजेक्टमा सहयोग गर्दै आएको पनि बताउनु भयो ।

उहाँले यसबाहेक सामाजिक बिकास, सामाजिक सेवा र लगानीको क्षेत्रमा पनि नेपालका बिभिन्न क्षेत्रमा योगदान गर्नु भएको छ । शेर्पाले योगदानको कदर हुने गरि सबैको साथ, सहयोग र समर्थन हुने पनि विश्वास ब्यक्त गर्नु भयो ।


प्रकाशित | १५ आश्विन २०७८, शुक्रबार १०:५१