एनआरएनए यूरोप सहसंयोजकमा यूकेबाट दयानिधी सापकोटाको उम्मेदवारी

लण्डन – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा यूकेबाट दयानिधि सापकोटाले युरोप क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सापकोटाले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि हुन गइरहेको निर्वाचनमा क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अभियान लामो समय चल्ने भएकाले तल्लो तहदेखि काम गर्दै विस्तारै माथिल्लो तहमा पुग्ने सोचअनुरुप सापकोटाले क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिएको बताउनु भयो ।

धेरै साथीहरूको युरोप संयोजकमा उम्मेदवारी दिन आग्रह गरे पनि आफूले सहसंयोजक पदमा जाने निर्णय गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,  ‘पद सानो ठुलो भएर खासै फरक पर्दैन । सामाजीक संस्थामा एकै पटक फड़को मारेर माथि पुगी हाल्ने र काम नगर्ने प्रवृतिसँग मेरो सधै असहमति छ ।’

नेपालको बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा जन्मिनु भएको सापकोटा जर्मनी हुँदै बेलायत आइपुग्नु भएको हो । बेलायतको लेस्टर निवासी सापकोटा एक सफल व्यवसायी तथा एनआरएनए अभियन्ता समेत हुनुहुन्छ ।

एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आउनु भएको सापकोटाले एनआरएनए युकेको कार्यसमिति हुँदै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । इमान्दार छवी बनाउँदै आउनु भएको सापकोटा सामाजीक कार्यमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ भने उहाँको संस्थामा ठूलो योगदान छ ।

उहाँले आफ्नो उम्मेदवारी गैर आवासीय नेपालीहरुको भावनात्मक एकतालाई कायम गर्न र संस्थामा  विधि, पद्धति स्थापीत गर्नका लागि भएको बताउनु भयो । साथै पूर्वी यूरोपमा एनआरएनएको सञ्जाल विस्तार हुन नसकेको बताउँदै उहाँले ती देशहरुमा एनआरएनएको संजाल विस्तार गर्नु आफ्नो अर्को एजेन्डा रहेको उल्लेख गर्नु भयो । उहाँले यूरोपमा भएका नेपालीहरुलाई भावनात्मक रुपमा जोड्न र वास्तावीक समस्यालाई सम्बोधन गर्न लागिपर्ने उहाँले बताउनु भयो । 

त्यस्तै, आफू बसोबास गरिरहेको बेलायत एनआरएनको जननी भएको बताउँदै उहाँले बेलायत र नेपालीहरुबीचको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन, गोर्खाजहरुको समस्याहरुलाई समाधान गर्न पनि लागिपर्ने बताउनु भयो । साथै क्षेत्रीय संयोजकले अगाडि सार्ने एजेन्डालाई कार्यान्वयन गर्न सहयोगीको भूमीका खेल्ने उहाँले बताउनु भयो ।

संघलाई विधि-विधान र पद्धतिमा स्थापीत गर्न नसकिएकोमा चिन्ता ब्यक्त गर्दै संस्थाभित्र तडक-भडक बढ्दै गएको भन्दै ती समस्यालाई समाधान गर्न के गर्नुपर्छ भनेर अगाडि बढ्ने र संस्थामा देखिएका विकृतिहरु अन्त्य गर्न लागिपर्ने उहाँले बताउनु भयो । 

त्यस्तै, यूकेबाटै युरोप क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको ललित न्यौपानेले आफ्नो उम्मेदवारी फीर्ता लिदै सापकोटालाई समर्थन गर्नु भएको छ । न्यौपानेले भने आफू आइसीसीको सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।


प्रकाशित | ४ आश्विन २०७८, सोमबार १६:३३