हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र

हेटौडा: प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको आकर्षण वढ्दै गएको छ । बैदेसिक रोजगारी समस्या वढदै गएको बेला युवाहरुलाइ स्वदेशमा नै आकर्षण गर्न सो कृषि केन्द्रको थालनी गरिएको हो । अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले एक वर्ष्भित्र नै एक हजार ५०० लाई रोजगारी दिने लक्ष्य लिएको फार्मका अध्यक्ष प्रेम कार्किले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका तथा विगतमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर हाल नेपालमा फर्किएका युवा र विभिन्न कारणले पीडित बन्न पुगेका महिलासमेत गरी देशका ४० जिल्लाका १५५ लगानीकर्ताको शेयर लगानी रहेको यस फार्मले हाल १०० जतिलाई रोजगारी दिएको र एक हजार ५०० लाई रोजगारी दिनेगरी काम अगाडि बढिसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।कार्कीका अनुसार फार्ममा हाल थोरै सङ्ख्यामा पाडापाडी, गाई, बाख्रा र कुखुरा भए पनि आगामी वर्षबाट नै एक हजार ५०० बाख्रा, २०० गाई, १० हजार कुखुरा, १०० पाडा, तीन चार हजार बट्टाई, उपलब्ध भएसम्म कालिज, केही हजार टर्की आदिको व्यावसायिक पालन शुरु गरिने छ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको कारण आफूहरु कृषितर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

हाल फार्मको आफ्नो जग्गा ७० कट्ठा भए पनि भडामा सोही अनुपातको जग्गा रहेको कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार एक गाई बराबर एक कट्ठा जग्गा आवश्यक पर्ने भएकाले २०० वटा गाई पाल्ने लक्ष्य भएको फार्मलाई आवश्यक पर्ने २०० कट्ठा जग्गा वरिपरिका किसानसँग भाडामा लिएर घाँस खेती शुरु गरिएको छ । बृहत् योजनासहित शुरु गरिएको कृषि फार्मलाई केन्द्र सरकार तथा प्रदेश सरकारले पनि सहयोग गर्ने जनाइएको छ भने स्थानीय सरकारको रूपमा रहेको मनहरी गाउँपालिकाले प्रत्यक्षरूपमा सहयोग गरिरहेको छ ।

अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझैँ लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझैँ लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भैँसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा माछा अनि तैरिरहेका हाँस, बारीमा मौसमी तथा बेमौसमी तरकारी, कृषिप्रति रुचि राख्ने जो कोहीको मन लोभ्याउने यो दृश्य छ ।

जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जिल्ला समन्वय समितिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कृषि उत्पादन पशुपालन, माछापालन र अन्य कृषिउपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव तथा प्रविधि र सीपसमेतको आदानप्रदान गराएर कृषि उत्पादनमा मकवानपुरलाई अगाडि बढाउन आफूहरु लागेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

कृषि उत्पादनलाई नै पहिलो प्राथमिकतामा राखेको प्रदेश ३ सरकारले कृषि उत्पादन बढाउन र प्रशस्त रोजगारीसमेत सिर्जना हुने गरी शुरु गरिएको यस फार्मलाई सकेको सहयोग गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुभयो ।कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै उनले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रहसमेत गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताउनुभयो । कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्ने उहाँको धारणा छ । प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउँदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने बताउनुभयो ।

भिजन अफ मकवानपुर कृषि फार्म तथा हाँडीखोलाको अधिकांश कृषि उद्यमको अवलोकन गरेको र समस्या सुनेको बताउँदै पौडेलले मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भए पनि खहरे खोलाले दुःख दिएको, पानी, बत्ती लगायत समस्या रहेको गुनासो आएकाले त्यसको समाधान गरिने बताउनुभयो पौडेलले उचित र मजबुत तटबन्धको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योग व्यवस्था गर्न सरकार लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो । रासस


प्रकाशित | ८ आश्विन २०७६, बुधबार २२:३५