भक्तपुर । एक महिना अगाडि देखि नै लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग थप फैलन नदिन र नियन्त्रणका लागि वडा-वडामा पशु चिकित्सकसहितको प्रावधिक टोली खटाएको छ ।

नगरपालिकाको पशुपंक्षी विकास शाखाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशु चिकित्सकहरुसहितको प्राविधिक टोली खटाएको हो ।

पशु विकास अधिकृत खड्ग मैनालीका अनुसार घुम्ती शिविर मंगलबार वडा नंं ९ मा आयोजना गरिएको छ ।

टोलीले दक्ष पशु चिकित्सक तथा पशु प्राविधिकद्धारा जाँच, नि:शुल्क औषधि वितरण, लम्पी स्कि रोग विरुद्ध नि:शुल्क खोप सेवा र लम्पि स्किन रोगका बारेमा जानकारी गराउँदै जनचेतना फैलाउने काम गरिरहेको हो ।

टोलीका अनुसार चाँगुनारायणका प्राय सबै गाउँमा यो रोग फैलिएको र प्रभावीत बनाएको छ ।

नगरपालिकाको एक्लो प्रयासले मात्र यो रोग नियन्त्रणमा ल्याउन सम्भव नभएकाले मन्त्रालयदेखि माथिल्लो निकायसँग पत्राचार गर्ने कार्य भइरहेको पनि मैनालीले जानकारी दिनुभयो ।

पशु शााखालाई प्राप्त १५ सय डोज खोपमा अहिलेसम्म ११ सय भन्दा बढी खोप लगाइसकिएको र ठूलो संख्यामा गाईभैसी विरामी भएको हुन सक्ने बताउँदै अबको एक हप्तापछि नगरपालिका क्षेत्रमा लम्पि स्किन रोगले के कति गाईभैसी मरे वा विरामी भए भन्ने यर्थात जानकारी आउने पनि बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन रोग नियन्त्रणका लागि पशु चिकित्सकसहितको विज्ञ टोलीलाई वडा-वडामा खटाएर घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले अहिलेसम्मको सबै प्रयास नगरपालिका आफैले गरेको बताउँनुभयो । उहाँले पंशु बिमाको रकम बिमा कम्पनीले किसानलाई समयमै उपलब्ध गराउन र घर घरमा गएर यो रोग नियन्त्रण गर्न सबै पक्षको सहयोगको खाँचो रहेको भन्दै सहयोगको लागि सबैमा अपिल समेत गर्नुभयो ।

प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको छ ।

मेयर खत्रीले यसअघि बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री डा. राजेन्द्र कुमार श्रेष्ठलाई भेटी लम्पी स्किन पीडित किसानलाई तत्काल राहत दिन माग गर्नु भएको थियो ।


प्रकाशित | २ श्रावण २०८०, मंगलवार २१:४२