गैर आवासीय नेपाली संघको निर्वाचन अक्टोवर २० मा गर्न प्रस्ताव

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी अक्टोवर २० तारिखमा गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । निर्वाचन समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोवर २० तारिखमा निर्वाचन गर्न प्रस्ताव गरेको हो । केहि साता अघि परराष्ट्र मन्त्रालयले एक पत्र लेख्दै तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिए पनि समयमा निर्वाचन गर्न समितिले आन्तरिक तयारी तीब्र पारेको हो ।

संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । पौडेलको संयोजकत्वमा गठित समिति सदस्य सचिवमा भूषण घिमिरे (जापान), सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार) र डा. गणेश गुरुङ (नेपाल) हुनुहुन्छ ।

सो समितिले निर्वाचनको आन्तरिक तयारी तीब्र पारेको जनाएको छ । गत जुलाई देखि निर्वाचन सम्बन्धी तयारीमा जुटेको समितिले जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको र आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जनाएको हो ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा प्राप्त भएको र हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘गैर आवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भइसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ’, जारी विज्ञप्तिमा भनीएको छ, ‘अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिन्छ ।’

साथै अहिले फोटो संकलनको काम जारी रहेको र निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड गर्न र नगरे मतदानबाट बन्चित हुने अवस्था आउन सक्ने भन्दै मतदातालाई सजग रहन पनि निर्वाचन समितिले आग्रह गरेको छ ।

समितिले गैर आवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडी कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए पनि पठाउन भनीएको छ । निर्वाचनका बाँकी आवश्यक प्रक्रियाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको पनि जनाइएको छ ।

त्यस्तै, निर्वाचनलाई सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको पनि जनाइएको छ ।

‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, विज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | १ आश्विन २०७८, शुक्रबार २१:०९