कोभिड-१९ : यथार्थ बुझौं, अफवाह नफैलाऔं

सुजना पोखरेल


“स्वास्थ्य नै ठूलो धन हो, आज बाँचे पो भोलिको संसार देखिएला, आज नभए भोलि कमाईएला, आज  नभए भोलि रमाइएला।”

चीनको वुहान प्रान्त हुँदै विश्वव्यापी फैलिएको कोरोना भाइरसले आम मानिसको दैनिकी, पठनपाठन, पेसा, व्यवसाय लगायत विभिन्न क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपले नकारात्मक असर पारिरहेको छ। कुनै पनि शस्त्र–अस्त्र विना नै आज एउटा सूक्ष्म भाइरसले विश्व नै आक्रमण गराइरहँदा पनि यसको समाधान एवं रोकथाम हुन नसक्नुले विश्व नै तहसनहस बनाइरहेको अवस्था छ।

कोभिड-१९ को जन्जालमा एकएक गर्दै धेरै मानिस ठूलो संख्यामा संक्रमित भइरहेका छन्। यो रोगबाट कलाकार, धनी, गरिब, डाक्टर, इन्जिनियर, नर्स, व्यवसायी, दीर्घरोगी, बालक, युवा, केटाकेटी, वृृद्ध लगायत कोही पनि अछुतो छैन। नेपालमा पनि कोभिड-१९ को अवस्था झन्झन् जटिल बन्दै गइरहेको छ। 

विश्वभरि वैज्ञानिक र अनुसन्धानकर्ता सामु अहिले कोरोना नियन्त्रण एक किसिमको चुनौतीको रुपमा खडा भएको छ। हुन त यो महामारी नियन्त्रणका लागि विभिन्न पहल नभएका होइनन् तापनि प्रभावकारी भूमिका निर्वाह गर्न भने वैज्ञानिकहरुलाई हम्मेहम्मे परेको छ।

विश्वभरि नै विभिन्न तरिकाको एन्टिभाइरल ड्रग्सको प्रभावकारितालाई निरन्तर रुपमा अनुसन्धान भइरहेको छ। उदाहरणका रुपमा रेमडेसिभिर नामक एन्टिभाइरल ड्रग्सलाई लिन सकिन्छ। अमेरिकन कम्पनी जिलियाड साइन्सेसले बनाएको यो औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी पाइएको छ।

त्यस्तैगरी हालै आएको एभिफ्याभिर र अन्य फ्याभिपिराभिर आधारित एन्टिभाइरल ड्रग्स पहिलो पटक रसियामा उत्पादन भएको छ। उक्त औषधिले पनि कोभिड-१९ को उपचारका लागि १७ वटा देशमा वितरण गर्नको लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) बाट मान्यता पाएको छ।

विश्वभरिका वैज्ञानिक र अनुसन्धानकर्ताहरु अबका दिनहरुमा कसरी छिटो र छरितो ढंगले कोभिड-१९ विरुद्ध भ्याक्सिन पत्ता लगाउने भनेर रफ्तारका साथ अनवरत रुपमा लागिपरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिलेको अवस्थामा १७० भन्दा बढी अनुसन्धानकर्ताका टोलीहरु सुरक्षित र प्रभावकारी भ्याक्सिन पत्ता लगाउनमा व्यस्त छन्। कुनै पनि भ्याक्सिन बनाउनका लागि सामान्यतया वर्षौं लाग्ने र कुनै स्केलमा उत्पादन गर्न थप समय लाग्ने गर्छ। हतारमा वा दबाबमा बनाइएको भ्याक्सिन भने कम प्रभावकारी र असुरक्षित हुने र सोचे जस्तो परिणाम नदिने भन्ने वैज्ञानिकहरुको धारणा छ। त्यसैले यो समयमा सबैले संयमता एवं सावधनी अपनाउनु बाहेक अरु कुनै पनि विकल्प नरहेको अवस्था छ।

महामारीको कुनै पनि उपचारकोे विकल्प नरहेकोले फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कनभ्यालेसेन्ट प्लाज्मा थेरापीलाई परीक्षण गर्नको लागि मान्यता दिइसकेको छ। यस थेरापीमा कोरोना संक्रमित भइसकेर निको भएका बिरामीको रगतलाई प्रशोधन गर्दै रगत कोषिकालाई हटाएर तरल प्लाज्मा र एन्टिबडीमा छुट्याइन्छ, जसले गर्दा अर्काे बिरामीलाई निको हुनमा केही मद्दत हुनसक्ने भनी चिकित्सकहरुको तर्क रहेकोे छ। कोरोनाबाट पूर्ण रुपमा निको भएका बिरामीमा उक्त भाइरस विरुद्ध शरीरले भरपूर एन्टिबडिजहरु उत्पादन गरेको हुन्छ, त्यसैले यस थेरापीको प्रयोगले अस्पतालमा उपचाररत संक्रमितको भाइरससँग लड्ने शक्तिलाई धेरै नै बढाउन मद्दत हुनसक्छ। यस थेरापीबाट थप बिरामीमा रोगको जटिलता र रोग लाग्ने अवधिलाई पनि छोट्याउन सक्ने भनि चिकित्सकहरुले अहिले देशव्यापी रुपमा नै अध्ययन र अनुसन्धान गर्दै परीक्षण गरेका छन्। 

मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा सामग्री, नियमित २० सेकेन्डसम्म साबुनपानीले हात धुने विधि, सामाजिक तथा भौतिक दूरीको पालना, सन्तुलित भोजन, दैनिक व्यायाम र उच्च मनोबलले कोरोना भाइरसलाई परस्त पार्न सकिन्छ। कोरोना लाग्दैमा डराइहाल्ने, आत्तिने, आत्माहत्याको बाटो रोज्ने जस्ता गतिविधिबाट हरेक मानिस टाढै रहनुपर्छ किनकी कोरोना लाग्दैमा कोही पनि तुरुन्तै मरिहाल्दैन। दीर्घरोग, मुटुरोग, शल्यक्रिया गरेका बिरामी, डायलाइसिस गराइरहेका बिरामी, गर्भवती र सुत्केरी, क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गरेका बिरामी लगायत अन्य बिरामीमा भने यो रोगको धेरै खतरा हुने भएकाले उच्च सावधानी अपनाउनु पर्ने हुन्छ। अरुको तुलनामा यस्ता बिरामीलाई भने कोरोना भाइरस सर्ने र मृत्यु हुने प्रवल सम्भावना हुने गर्छ। 

विश्व लगायत नेपालमा पनि पछिल्लो समय सामाजिक दूरी, लकडाउन, मास्क, स्यानिटाइजर, पिसिआर विरुद्ध आन्दोलन गर्दै विभिन्न समूहका मानिसहरु सडकमा उत्रिएका छन्। मेडिकल माफियाहरुको राजनीति, रणनीति, षडयन्त्र, लुटतन्त्र, व्यापारीकरण र बिजनेसको एजेन्डा भनी कोरोनालाई परिभाषा दिँदै अहिलेको अवस्थामा जनमानसमा निरन्तर रुपमा एक किसिमको अपवाह फैलाइरहेका छन्। जसका कारण पनि मानिसले यो रोगलाई गम्भीरताको रुपमा नलिने प्रक्रिया बद्दो छ।

चर्चित भनाइ नै छ “उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ” जुन भनाइ हरेक रोगको सन्दर्भमा मिल्ने गर्छ। अर्थात् रोग चाहे जुनसुकै नै किन नहोस् पूर्व स्वास्थ्य सावधानी अपनाउँदा धेरै नै फाइदा हुने गर्छ। सुरुवाती समय जतिबेला यो महामारी नेपालमा प्रवेश गरिरहँदा जताततै मानिसबीच कोरोना भाइरसप्रति जुन किसिमको चेतना, त्रास, होहल्ला र कौतुहल थियो, त्यो पछिल्लो समयमा आम मानिसमा देख्न सकिँदैन। “अचानोको पिर खुकुरीले बुझ्दैन” भनेझैं जो व्यक्ति कोरोनाबाट संक्रमित छ ऊ कुन परिस्थितिले गुज्रेको हुन्छ भन्ने अवस्थाको कल्पना पनि गर्न सकिँदैन। जतिबेला आफू र आफ्ना निकटलाई कोरोनाको संक्रमणपश्चात् मृत्यु हुँदैन तबसम्म मानिसको रोगप्रतिको धारणा सामान्य नै रहन्छ।

विकसित राष्ट्रहरु त आज हात बाँधेर बस्न विवश छन् भने हाम्रो जस्तो अविकसित राष्ट्र जहाँ अधिकांश वर्ग गरिबीको चरम चपेटामा गुज्रिरहेका छन्, दैनिक ज्याला मजदूरीमा आफू र आफ्ना परिवारको पेट पाल्नेहरुलाई त बज्रपात नै परेको छ। एउटा सूक्ष्म भाइरसले गर्दा कतिले आफ्नो परिवारजन गुमाउनु प¥यो, कतिले रोजगारी, कतिको व्यवसाय नै धरापमा पर्दैछ। बैंकको ऋणको चर्को व्याजदर तिर्न नसक्दा कतिको घरखेत नै लिलामी हुने अवस्थामा छ। यी त केही उदाहरण मात्रै हुन्, महामारीको प्रभावलाई अझ केलाउँदै जाने हो भने विश्वलाई नै अतुलनीय क्षति हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ। समुदायस्तरमै व्यापक रुपमा फैलिसकेको यो महामारीलाई सामान्य रोग नठानी सावधानी अपनाउनुमा नै बुद्धिमानी हुन्छ।

नेपालमा पनि सुरुवाती चरणबाट नै कडाइका साथ महामारीलाई केही हदसम्म रोक्न सक्ने प्रचुर सम्भावना हुँदाहँुदै पनि दुर्भाग्यवस देशको कमजोर नीतिगत स्वास्थ्य प्रणालीले गर्दा कोभिड-१९ को रोकथाममा सरकार चुकिनै रह्यो र अन्ततः महामारीले पनि उग्ररुप लिन सफल भयो। विना कुनै वैज्ञानिक तथ्य न कुनै अनुसन्धान कोरोना भाइरसलाई एक खालको सामान्य रुघाखोकी भनी हाउगुजीको रुपमा अपवाह फैलाउनुले पनि आम मानिसको मनमस्तिष्कमा भ्रमको नकारात्मक खेती हुने क्रम जारी छ।

भाइरस लगायत अन्य सूक्ष्मजीवहरुको वैज्ञानिक तरिकाले मान्यताप्राप्त पिसिआर विधिलाई पनि धेरैले केही नबुझी यस विधिबारे अनेकौं प्रश्न खडा गर्दै तथ्यहीन अपवाह फैलाइरहेका छन्। आरटिपिसिआर विधि कोरोना भाइरसको आरएनए पत्ता लगाउनको लागि अति नै योग्य र प्रभावकारी विधि मानिन्छ जसमा संक्रमित व्यक्तिको घाँटी र नाकको स्वाबबाट प्रत्यक्ष रुपमा भाइरस छ या छैन भनेर पत्ता लगाउन सकिन्छ। संक्रमित व्यक्तिमा तत्काल नै भाइरस छ या छैन भनेर पत्ता लगाउन उपयुक्त विधिको रुपमा आरटिपिसिआर विधिलाई लिन सकिन्छ। यो विधिबाट भने तत्कालै भएको रोगको अवस्थामा मात्रै भाइरस पुष्टि हुन्छ भने निको भइसकेका र शरीरबाट भाइरस विरुद्ध निस्केको एन्टिबडीको अवस्थामा भने भाइरस पत्ता लगाउन नसक्नु यो विधिका कमीकमजोरी हुन्।

स्रोतमा उल्लेखित एक रिपोर्टमा बिरामी–बिरामी बीचको श्वासप्रश्वास प्रणाली अनुसार भाइरस कहाँ अवस्थित छ भन्ने कुरामा भिन्नता हुने गर्छ जसको कारणले पनि यो विधिको प्रभावकारितालाई असर गर्ने गर्छ। जस्तै उदाहरणका लागि यदि कुनै पनि बिरामी कोरोना भाइरसबाट संक्रमित छ भने, उसको खकार वा नासोफ्यारेन्जियल स्वाब कुनै एकमा मात्रै भाइरस पत्ता लाग्छ तर एकैपटक दुवै स्थानमा पत्ता लाग्न सक्छ भन्ने हुँदैन। त्यसले गर्दा पनि मिसडायग्नोस हुनसक्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि हुनसक्छ, कोभिड–१९ को रिपोर्ट अस्पतालका ल्याबबीच नै फरकफरक आउने। तर यसको उल्टो मतलब राखेर बिना अनुसन्धान नै आरटिपिसिआर विधि नै झुटो भन्ने भ्रामक अपवाह फैलाउनु एकदमै मूर्खता हो।

बिडम्वना, नेपालमा दिनानुदिन कोरोना संक्रमण बढ्दो छ र बडादसैं, तिहार र छठ जस्ता चाडपर्वको आगमनसँगै संक्रमित झनै थपिनेछन् र धेरैको मृत्यु हुनेछ भन्ने कुरा सबैले मनन् गर्नु जरुरी छ। अझै पनि धेरै ढिला भएको छैन, आ( आफ्नो ठाउँबाट सबैले विभिन्न सावधानी अपनाएर सरकारको मात्रै मुख नताकी जहाँ छौं, त्यहीँ संयमित भएर परिवारसँग चाडबाड मनाऔं। 

“स्वास्थ्य नै ठूलो धन हो, आज बाँचे पो भोलिको संसार देखिएला, आज नभए भोलि कमाईएला, आज  नभए भोलि रमाइएला।” स्रोत – स्वास्थ्य खवर

(पोखरेल मेडिकल माइक्रोबायोलोजिस्ट हुन्।)


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार १०:५१